३१ जेठ २०८३, आइतबार

कर्णालीका मुख्यमन्त्री शाहीले गरे यातायात कार्यालयमा आकस्मिक निरीक्षण

कात्तिक २३, २०७८
कर्णालीका मुख्यमन्त्री शाहीले गरे यातायात कार्यालयमा आकस्मिक निरीक्षण

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यातायात व्यवस्था कार्यालय सुर्खेतको आकस्मिक निरीक्षण गरेका छन् ।

निरीक्षणको क्रममा मुख्यमन्त्री शाहीले सेवाग्राहीसँग सेवा लिँदा देखिएका समस्या र समाधानको उपायबारे बुझेका थिए ।

सेवाग्राहीले अनुसूची फारम कार्यालयले भर्न नदिएको, दलालमार्फत अनुसूची फारम भर्दा १५ रुपैयाँ लाग्ने फारामलाई १०० लिने गरेको, पैसा तिर्नका लागि पनि घण्टौंसम्म लाइनमा बस्नुपर्ने बाध्यता रहेको गुनासो मुख्यमन्त्रीसमक्ष पोखेका थिए ।

सेवाग्राहीका गुनासा सुनेपश्चात् मुख्यमन्त्री शाहीले अनलाइनमार्फत शुल्क तिर्ने व्यवस्था तत्काल मिलाउन, आवश्यक जनशक्ति प्रदेश सरकारसँग माग गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए । उनले कार्यालय आफैंले गर्न सक्ने काम समेत नभएको भन्दै तत्काल सुधार र सेवाका कामलाई अघि बढाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीले सेवाग्राहीका गुनासा सम्बोधनका लागि सुर्खेतका प्रमुख जिल्ला अधिकारी छवि रिजालसँग पनि छलफल गरेका छन् । उनले यातायात कार्यालय बाहिर अनुसूची फारम भर्ने प्रयोजनका लागि खोलिएका अवैध पसल तत्काल बन्द गर्न, सवारीसाधन र पार्किङको व्यवस्था मिलाउन निर्देशन दिए ।

मुख्यमन्त्री शाहीको निर्देशनलगत्तै जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालय बाहिरका पसल तत्काल हटाउन तथा ट्राफिक व्यवस्थापन गरिएको प्रशासनले जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्