
नेपाली युवा पुस्तामाझ चर्चित सामाजिक सञ्जाल टिकटकको नामबाट रियालिटी शो आयोजना गरिने भएको छ ।
टिकटक स्टार रियालिटी शोलाई शिखर नेपाल प्रालिले आयोजना गर्ने भएको हो ।
बुधवार राजधानीस्थित एक होटलमा पत्रकार सम्मेलन गरेर रियालिटी शोबारे जानकारी दिइएको हो ।
पत्रकार सम्मेलनमा प्रमुख अतिथिका रूपमा श्रममन्त्री कृष्णकुमार श्रेष्ठ ‘किसान’ उपस्थित थिए ।
टिकटक स्टार रियालिटी शोमा सहभागी हुनका लागि टिकटकमा एकाउन्ट अनिवार्य हुनुपर्ने नियम बनाइएको छ भने टिकटकको कम्युनिटी गाइडलाइन पालना गरेर १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाएर मंसिर मसान्तसम्म अडिसन राउन्डमा पेश गर्नुपर्नेछ ।
यसबारे विस्तृत जानकारी शिखर नेपाल टिकटक स्टारको वेबसाइटमा गराइनेछ ।
भिडियो विशेष ज्यूरीले छानेपछि टिकटकरलाई शोमा बोलाइने छ । अन्य रियालिटी शो जस्तै यो कार्यक्रम पनि महिनौं लम्बिने जनाइएको छ ।
शोका कार्यक्रम निर्माता टेकप्रसाद बास्तोला रहेका छन् भने कार्यक्रम निर्देशक हरि शर्मा रहेका छन् ।
निर्णायक मण्डलमा अभिनेत्री गौरी मल्ल, अभिनेता रमेश उप्रेती र नायिका वर्षा शिवाकोटी रहनेछन् ।
कार्यक्रमलाई नाइस टीभीबाट प्रसारण गरिने आयोजक कमिटीले जनाएको छ ।