
छठ पर्व मनाउन मामाघर आएका २ युवा खोलाले बगाउँदा १ जनाको मृत्यु भएको छ भने १ जना बेपत्ता भएका छन् ।
मोरङको रंगेली नगरपालिका–७ बक्राह खोलामा नुहाउन गएका २ जनामध्ये १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भारतको मध्यापुरा सिंहेश्वरथान घर भई रंगेली नगरपालिका–६ भन्सार टोलमा सुरेश साहको घरमा पाहुना आएका २१ वर्षीय बिटुकुमार साह र १८ वर्षीय राजा साह बुधवार दिउँसो बक्राह खोलामा नुहाउने क्रममा डुबेर हराई बेपत्ता भएका थिए ।
प्रहरी र स्थानीयको टोलीले बिटुकुमारलाई उद्धार गरी उपचारका लागि रंगेली अस्पताल लगेको थियो । अस्पतालमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले बताए ।
बेपत्ता अर्का युवाको खोजी जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू दाजुभाइ रहेका प्रहरीले जनाएको छ ।