११ असार २०८३, बिहीबार

मिथिलामा भगवान् विष्णुको पूजाआराधना गरी अक्षय नवमी मनाइँदै

कात्तिक २७, २०७८
मिथिलामा भगवान् विष्णुको पूजाआराधना गरी अक्षय नवमी मनाइँदै

महोत्तरी सहितका मिथिला क्षेत्रमा शनिवार अक्षय नवमी पर्व मनाइँदैछ ।

कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार यो पर्व शनिवार मनाइँदै गरिएको हो ।

मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने यो पर्व सामूहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ ।

पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमला (धातृ) को रुखको फेदमा खाना खाने मैथिल परम्परा छ । पर्व विशेषमा शनिवार महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन् । यो पर्वमा घर नजिकै, बगैंचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ ।

पर्वमा अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोजमा पकाउने, खाने परम्परा छ । पर्व विशेषले अब चिसो मौसम छिप्पिँदै जाने क्रममा खानेकुरामा अमलाको प्रयोग बढाउने सन्देश रहेको मैथिल संस्कृति परम्पराका जानकार बर्दिबास नगरपालिका–२ का महेशकुमार झाले बताए ।

पर्वमा खासगरी किशोर र युवा वनभोजको चाँजोपाँजो मिलाउन व्यस्त देखिएका छन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिता बढ्नु सकारात्मक भएको पाका मैथिल बताउँछन् । सांस्कृतिक पर्वमा किशोर र युवाको सहभागिताले संस्कृतिको जगेर्ना, विकास र निरन्तरता पाउनमा सहयोग हुने जिल्लाकै बलवा नगरपालिकाको बलवा बजारका वासिन्दा शिवनारायण झा बताउँछन् ।

पर्व विशेषमा जिल्लाको बर्दिबास नगर क्षेत्रका कारेघोप्टे, माईस्थान, टुटेश्वर, राइमण्डल, कालापानी र गौरीडाँडा वनपार्क नजिकका वन क्षेत्रका अमलाका रुखका फेदमा एकाबिहानै कैयौं वनभोजका टोली पुगेका छन् । खानेकुरामा अमलाको नियमित प्रयोगमा जोड दिने परम्पराले यो पर्व स्वास्थ्य सचेतनाका लागि सहयोगी भएको बर्दिबास अस्पतालका मेडिकल अधिकृत डा. सुनिल दाहालको भनाइ छ ।

मिथिलामा शनिवारका दिनलाई कुष्माण्डा नवमी समेत भनिने गरिएको छ । यसै तिथिमा द्वापर युगमा श्रीकृष्णले कुष्माण्डक दैत्यलाई सम्हार गरेर कंश वध गर्नपूर्व मथुरा, बृन्दावन र गोवद्र्धन पर्वत क्षेत्र परिक्रमा गरेका जनश्रुति रहेको मिथिला कला, साहित्य र परम्पराका ज्ञाता साहित्यकार डा. राजेन्द्रप्रसाद विमल बताउँछन् ।

कात्तिक शुक्ल नवमीदेखि पूर्णिमासम्म भगवान् विष्णु अमलाका रुखमा बस्ने जनविश्वास छ । अक्षय नवमीका दिन भगवान् विष्णुको आराधनाले इच्छित कामना पूरा हुने र सन्तान सुख प्राप्त हुने मान्यता छ । इच्छित कामना पूरा हुने भएकाले यस पर्वलाई इच्छा नवमी र अमला (धातृ) को प्रयोगमा जोड दिइने परम्पराले धातृ नवमी समेत भन्ने गरिएको डा. विमल बताउँछन् । अमला स्वस्थ्य खानाको वस्तु भएकाले यो पर्व स्वास्थ्य सचेतनाकै लागि पूर्वजले शुरू गरेका मैथिल युवा बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्