
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आसन्न निर्वाचनको तयारीमा जुट्न पार्टीका नेताहरुलाई निर्देशन दिएका छन । नेकपा (एस)को केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन गर्दै नेपालले निर्वाचन तयारीमा लाग्न भनेका हुन् ।
नेकपा (एस)को केन्द्रीय कमिटीको दोस्रो बैठक आजबाट ललितपुरमा शुरू भएको छ । बैठकमा अध्यक्ष नेपालले लिखित मन्तव्य पेश गरेका थिए ।
बैठकमा नेपालले नेताहरुलाई निर्वाचनको तयारीमा लाग्न निर्देशन दिदै खर्चिलो निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने र भ्रष्टाचारको मुहान नै बन्द गर्नका लागि निर्वाचन कानुनमा फेरबदल गर्नुपर्ने बताएका थिए ।
निर्वाचन प्रणाली फेर्न र त्यसका लागि निर्वाचन कानून सच्याउन पार्टीले पहल गर्ने नेपालले बताएका थिए ।
बैठकमा नेपालले कम्युनिष्ट आन्दोलनलाई सही दिशा प्रदान गर्न नेकपा (एकीकृत समाजवादी) निर्माण गरि अगाडि बढेको बताएका थिए ।
नेकपा एमालेको नवौं महाधिवेशनका निष्कर्षहरू र जबजको मान्यतालाई कुल्चने; गुटवाद, व्यक्तिवाद, र सर्वसत्तावादले पार्टीको सैद्धान्तिक वैचारिक आधारलाई गरेकाले विद्रोह गर्नुपर्ने स्थिति बनेको नेपालले बैठकमा बताएका थिए ।
‘हामीले समृद्ध समाजवादको दिशामा जाने अठोट गरेका छौँ । अब पार्टी र सरकार यही दिशामा केन्द्रित हुनुपर्छ’, नेपालले भने, ‘पार्टीको तीन महिने कार्ययोजनालाई विशेष परीक्षाको रुपमा लिई काम गर्न, सबैले व्यक्तिगत पार्टी जिम्मेवारी कुशलतापूर्वक पुरा गर्नुपर्नेछ ।’
राष्ट्रिय राजनीतिमा नेकपा (एस)को भूमिका बढीरहेको छ र एमालेको साख दिनप्रतिदिन घट्दै गएको नेपालले बताए ।
‘हामीले गठबन्धन निर्माणमा प्रभावकारी भूमिका खेलेका छौँ । संघीय र प्रदेश सरकारमा यथोचित नेतृत्व गरेका छौँ । राष्ट्रिय आत्मसमर्पणवादबाट देशलाई जोगाउने काम गरेका छौँ’, नेपालले बैठकलाई सम्बोधन गर्दै भने ।
त्यसबाहेक, पार्टीलाई आधारभूत वर्गका माझमा पुर्याउन विशेष पहल गरिने र युवालाई व्यापक रुपमा संगठित गर्ने योजना पनि बैठकमा राखेको थिए । ‘१६ वर्षमाथिका सबैलाई संगठित गरौँ । ४० वर्ष मुनिका युवालाई संगठित गर्न विशेष ध्यान दिऔं’, नेपालले भनेका थिए ।
नेकपा एसका सम्मानित नेता झलनाथ खनालले अब जनताको बहुदलीय जनवाद पार्टीको मार्गदर्शक सिद्धान्त बन्न नसक्ने बताएका थिए । मार्क्सवाद लेनिनवाद नै पार्टीको मार्गदर्शक सिद्धान्त भएको उनले बताएका छन । खनालले पनि लिखित मन्तव्य बैठकमा राखेका थिए ।
‘हामी आन्दोलनको नयाँ चरणमा प्रवेश गरेको यथार्थ बुझ्नुपर्छ । पहिलेभन्दा अब गुणात्मक रुपले भिन्न हुनुपर्छ । विगतदेखिको कम्युनिष्ट आन्दोलनको मुल्यांकन गर्नुपर्छ’, खनालको मन्तव्यमा भनिएको छ, ‘सैद्धान्तिक फौज नभइ पार्टी बन्दैन । अध्ययन शैलीमा सुधार गर्नुपर्छ । सैद्धान्तिक वैचारिक कामलाई नै प्राथमिकतामा राख्नुपर्छ ।’
एमालेको नेतृत्वले दक्षिणपन्थी अवसरवादतर्फ पार्टीलाई धकेल्ने, पार्टीलाई गुटबाट कब्जा गरेर समग्र पार्टीलाई ठप्प पार्ने, व्यक्ति स्वार्थ र पदलोलुपता देखाएर जनताले दिएको बहुमतलाई पटकपटक लत्याएकाले विद्रोह गर्नुपरेको उनले बैठकमा बताएका थिए ।
‘पार्टीलाई वपौति बनाएर विधिअनुसार नचलाएकाले हामीले विद्रोह गरेका हौँ’,’ खनालले भने, ‘विद्रोह क्रान्तिकारी परिवर्तनका लागि हुन्छ । प्रणाली भत्काएर नयाँ प्रणाली बनाउनका लागि हुन्छ ।’
नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठकमा छलफलका लागि समूह बनाएको छ ।
पार्टीका उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले समूहगत रूपमा छलफल अगाडि बढेको बताए । ‘सबै प्रदेश, मोर्चा संगठन, सम्पर्क कमिटीको समुह विभाजन भइ छलफल अगाडि बढिरहेको छ’, खतिवडाले भने ।
शनिबारबाट सुरु भएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको दोस्रो बैठक आइतबारसम्म जारी रहने बताइएको छ ।
बैठकमा आज अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल, बाग्मती प्रदेशको मुख्यमन्त्री तथा पार्टी उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डे र प्रदेश नं १ का मुख्यमन्त्री तथा पार्टीका सचिव राजेन्द्रकुमार राईले मन्तव्य राखेका थिए ।