
नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले सोमवार सर्वोच्च अदालतका न्यायाधीशहरूलाई भेटेर आफ्नो बटमलाइनबारे प्रस्ट्याएका छन् ।
बारका पदाधिकारीहरूले १३ जना न्यायाधीशहरूलाई भेटेर प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा नै बटमलाइन भएको बताएका हुन् ।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले लोकान्तरसँग भने, 'अहिलेसम्म हाम्रो आन्दोलनको एजेन्डा तथा बटमलाइनबारे प्रस्ट रुपमा जानकारी गराएका छौं, प्रधानन्यायाधीशज्यूको राजीनामा नै बटमलाइन रहेको तथा त्यसभन्दा तल-माथि जान नसकिने भनेर प्रस्ट रुपमा कुरा राखेका छौं ।'
त्यसै गरी नेपाल बारका महासचिव लीलामणि पौडेलका अनुसार प्रधानन्यायाधीश र न्यायाधीशबीच मात्र हुने सम्झौता मान्य नहुने कुरा पनि न्यायाधीशहरूलाई प्रस्ट रुपमा बताइएको छ ।
'न्यायाधीश र प्रधानन्यायाधीशबीच दुई पक्षीय सम्झौता मात्र हामीलाई मान्य हुँदैन, बार समेतको त्रिपक्षीय सम्झौता मात्र मान्य हुने भनेर हामीले आफ्नो कुरा राखेका छौं,' बार महासचिव पौडेलले लोकान्तरसँग भने, 'तपाईंहरूको कुरा हामीले सुन्यौं, हामी आफ्नो कुरा भोलि राख्छौँ भनेर न्यायाधीशहरूले जवाफ दिनुभयो ।'
बारका पदाधिकारी र न्यायाधीशहरूबीच भोलि फेरि छलफल जारी रहने पौडेलले बताए ।
नेपाल बारका अध्यक्ष, तीन जना उपाध्यक्ष, महासचिव र सर्वोच्च बारका अध्यक्ष र सचिवले १३ जना न्यायाधीशहरूसँग सोमवार भेटेर छलफल गरेका थिए ।