२४ जेठ २०८३, आइतबार

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

हुम्लामा यात्रुको चाप घट्दै, निजी एयरलाइन्सको नियमित उडान

उच्च हिमाली जिल्ला हुम्लाबाट अन्तर जिल्ला जोड्ने एकमात्र हवाई सेवाले पछिल्लो केही दिन यतादेखि नियमित उडान भरिरहेका छन् । दसैँ तिहारको समयमा जिल्लाबाहिर जाने यात्रुको चाप बढिरहेका बेला केही दिनयतादेखि नेपाल एयरलाइन्ससहित निजी एयरलाइन्सले हुम्लामा आफ्नो उडान थप गरेका छन् ।

    हुम्लादेखि जिल्लाबाहिर पुग्न छिटो र सजिलो माध्यम हवाई सेवा रहेको छ । सिमकोट विमानस्थल स्रोतका अनुसार नेपालगञ्ज, सुर्खेतदेखि हुम्लामा सीता, समिट र तारा एयरलाइन्सले नियमित उडान भर्दा यात्रुको चाप घटेको छ । सीता एयरलाइन्सले बिहानदेखि दिउँसो चार बजेसम्म उडान भर्दा सिमकोट विमानस्थलमा यतिबेला यात्रुको चाप घटेको हो । समिट र तारा एयरलाइन्सले दैनिक दुईसम्म उडान भर्ने गरेका छन् ।

    जिल्लामा अभाव भएको हवाई उडानमा निजी एयरलाइन्सले उडान तालिका बढाउँदा जिल्लाबाहिर जाने हुम्ली यात्रुलाई सहज भएको छ । दसैँ तिहार मनाउन घर पुगेका विद्यार्थीसहित स्वास्थ्योपचार तथा काम विशेषले जिल्लाबाहिर जाने यात्रुलाई थप सहज भएको हो । सिमकोट विमानस्थलमा दैनिक सयौँको सङ्ख्यामा भीडभाड हुने गरे पनि दुईदिन यतादेखि यात्रुको चाप निकै घट्दै आएको छ ।

 यस्तै सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले हुम्लालगायत कर्णालीका हिमाली जिल्लाका लागि आफ्नो उडान थप गरेको छ । हुम्लासहितका विमानस्थलमा यात्रुको चाप वृद्धि भएकाले उडान सङ्ख्या थप गरेको जानकारी प्राप्त भएको छ । नेपाल एयरलाइन्सले हुम्लाका लागि हप्तामा तीनवटा सहुलियत उडान थप गरेको जिल्ला शाखाका प्रमुख बलबहादुर सुनारले बताए । यसअघि हप्तामा एउटा मात्रै उडान भर्दै आएको एयरलाइन्सले अब हप्तामा तीन उडान भर्ने भएको प्रमुख सुनारले बताए। नेपाल एयरलाइन्सले हुम्लाका लागि आइतबार, सोमबार र बिहीबार उडान भर्ने भएको उनले बताए ।

    सिमकोटबाट नेपालगञ्जको भाडा नेपाल एयरलाइन्सको रु छ हजार ९१० छ भने निजीस्तरका तारा र सीता एयरले रु छ हजार ३० र समिट एयरले रु छ हजार १३० लिने गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्