१५ असार २०८३, सोमबार

अर्घाखाँचीमा भरतपुरको झल्कोः सितगंगाका मतदाता भन्छन्, ‘यहाँको चुनाव रोचक छ’

कात्तिक २०, २०७४
अर्घाखाँचीमा भरतपुरको झल्कोः सितगंगाका मतदाता भन्छन्, ‘यहाँको चुनाव रोचक छ’

अर्घाखाँची (ठाडा), १० असार– दोस्रो चरणको स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाँचीको सितगंगा नगरपालिकाका मतदातामा कौतहलता र चुनावी रौनकता एकैपटक चढेको छ । कारण हो, कांग्रेस–माओवादीले चुनावी तालमेल गर्नु र नेकपा एमाले गठवन्धनविरुद्ध एक्लै चुनावी मैदानमा उत्रिनु ।



यसअघि सितगंगामा कांग्रेस र एमालेको बराबर जस्तै अवस्था थियो । तर माओवादीसँग तालमेल गरेपछि कांग्रेसतर्फ चुलो लच्किन सक्ने स्थानीय मतदाताको आकलन छ ।

सितगंगाको मेयरका लागि नेपाली कांग्रेसबाट सूर्यप्रसाद अधिकारी उम्मेदवार छन् । गठवन्धनअनुसार माओवादीका तर्फबाट सीता रेग्मी उपमेयरकी उम्मेदवार छिन् ।



कांग्रेस र माओवादी गठवन्धनविरुद्ध नेकपा एमालेले भने बसन्त कुमार श्रेष्ठलाई मेयरको उम्मेदवार बनाएको छ । उपमेयरमा एमाले नेत्री गीता भाटले टिकट पाएकी छन् ।

कांग्रेसबाट वडा नम्बर ३ को सदस्यका उम्मेदवार रामकृष्ण श्रेष्ठ कांग्रेस–माओवादी गठवन्धनले सजिलै चुनाव जित्ने दावी गर्छन् । ‘पहिले कांग्रेस र एमालेको अवस्था बराबर जस्तै थियो,’ उनी भन्छन्, ‘तालमेल गरेपछि त्यसै पनि बलियो हुने भयो नै । हामीले सजिलै चुनाव जित्छौं ।’



कांग्रेस–माओवादी गठवन्धनले आफूलाई बलियो दावी गरिरहे पनि एमालेका उम्मेदवार भने आफूहरुले नै चुनाव जित्ने भन्दै ढुक्क छन् । एमालेबाट सितगंगा नगरपालिकाको वडानम्बर ३ को सदस्यका उम्मेदवार किरण अधिकारी कांग्रेस र माओवादीको गठवन्धनले आफ्नो पार्टीलाई कुनै फरक नपार्ने दावी गर्छन् । ‘सिद्धान्त नमिल्ने पार्टीबीचको गठवन्धन सफल हुँदैन्,’ उनी भन्छन्, ‘यहाँ चुनाव जित्ने एमालेले नै हो ।’



सितगंगाको नेतृत्वका लागि अन्य साना दल नेकपा माले, जनमोर्चा लगायतबाट पनि ७ जना उम्मेदवार छन् । तर चुनावी प्रतिस्पर्धा भने कांग्रेस–माओवादी गठवन्धन र एमालेबीच नै हुने देखिन्छ ।

विगतको गणित

सितगंगा नगरपालिका विभिन्न ७ वटा गाविस मिलाएर बनेको हो । यसअघि २०५४ सालमा भएको स्थानीय निकायको चुनावमा सितगंगामा गाभिएका अधिकांश गाविसमा एमाले विजयी भएको थियो ।



२०४८ सालयता भएका निर्वाचनमा सितगंगा पर्ने निर्वाचन क्षेत्रमा एमाले तीन पटक विजयी भएको छ । यस्तै एक संसदीय चुनाव र दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।

मतदाता यसो भन्छन्

सितगंगाका मतदाता तथा स्थानीय शिक्षक विष्णु अर्याल सितगंगामा चितवनको भरतपुरलाई मात दिने खालको चुनावी प्रतिस्पर्धा हुने बताउँछन् । चितवनको भरतपुर महानगरपालिकामा पनि कांग्रेस र माओवादीबीच चुनावी तालमेल भएको थियो ।



‘यहाँको चुनावमा रोचक र तीव्र प्रतिस्पर्धा हुने देखिन्छ,’ शिक्षक अर्याल भन्छन्, ‘चुनाव जित्ने दलले पनि थोरै मात्र मतअन्तरले जित्ने अवस्था छ ।’

सितगंगाको चुनावी माहोलले युवा र वयस्कहरुलाई मात्र हैन, बृद्ध बृद्धाहरुलाई पनि उत्तिकै छोएको छ । स्थानीय ७६ वर्षीय बृद्ध देवीप्रसाद अर्याल अहिलेको चुनाव रौनकपूर्ण भएको बताउँछन् । यो चुनावले सिंहदरवारको अधिकार गाउँघरमा ल्याउने भन्दै स्थानीयमा खुसीयाली छाएको उनको अनुभव छ ।

salt training

कमेन्ट गर्नुहोस्