०५ असार २०८३, शुक्रबार

जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस कक्षा सञ्चालन हुने

जुम्लामा मंसिर १९ गतेदेखि एमबीबीएस कक्षा सञ्चालन हुने

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबीबीएस) अध्ययनका लागि तयारी पूरा भएको छ ।

यसका लागि आवश्यक कोठा, प्रयोगशाला र छात्रावासको व्यवस्था गरिएको र मंसिर १९ गतेबाट कक्षा सञ्चालन हुने जनाइएको छ । 

कर्णालीमा पहिलोपटक एमबीबीएसको अध्ययन शुरूआत हुन लागेको छ । चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्र्तीण भएका विद्यार्थीले अध्ययनका लागि भर्ना समेत गरिसकेका प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका डीन डा. रमेश भट्टराईले १५ पूर्ण छात्रवृत्ति र ५ जनाले शुल्क तिरेर अध्ययन गर्ने जानकारी दिए ।

प्रतिष्ठानले ३०० शय्याको अस्पताल समेत सञ्चालनमा ल्याइसकेको छ । अस्पतालमा १० शय्याको सघन उपचार कक्ष (आईसीयू) र ४ शय्याको शल्यक्रिया कक्ष रहेको छ । 

चिकित्सा शिक्षा अध्यापनका लागि प्रतिष्ठानमा ८२  विषयगत चिकित्सक छन् । प्रतिष्ठानमा यस वर्षदेखि स्नातक तहमा फार्मेसी (बी फार्मेसी), सोही तहमा नर्सिङ (बीडीएस) पनि अध्यापन हुँदैछ । ती दुवै विषयमा २०/२० विद्यार्थी अध्ययन गर्नेछन् ।

१ वर्षदेखि प्रतिष्ठानमा एमडी ५ जना अध्यापन गरिरहेका छन् । ब्याचलर पब्लिक हेल्थ (बीपीएच), स्नातक तहमा सुत्केरी सम्बन्धी कक्षा पनि ३ वर्षदेखि शुरू भइरहेको छ । ती विषयमा २०/२० विद्यार्थी अध्ययन गरिरहेको जनाइएको छ ।

सरकारले कर्णालीका दुर्गम क्षेत्रमा चिकित्सा शिक्षा र स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले विक्रम संवत् २०६८ सालमा प्रतिष्ठानको स्थापना गरेको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्