
पर्वत जिल्लाका क्रियाशील ८ वटा लायन्स क्लब र नेपाल मेडिकल एशोसिएशनको सहयोगमा पर्वत अस्पतालमा अक्सिजन प्लान्टबाट सिलिन्डरमा भर्ने रिफिल मशिन जोड्न लागिएको छ ।
सिलिन्डरमा अक्सिजन भर्नका लागि आवश्यक कम्प्रेसरको अभावमा सिलिन्डर पोखरा पठाउनुपर्ने बाध्यता अब अन्त्य हुने भएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. ढुण्डिराज पौडेलका अनुसार उपकरण जडान गरिए पनि काम कहिले सकिन्छ भन्ने यकिन छैन । उपकरण सञ्चालनका लागि २२० भोल्टमाथिको विद्युत् आपूर्ति आवश्यक पर्ने र यसका लागि छुट्टै ट्रान्सफर्मर चाहिने भएकाले त्यसको व्यवस्था नभएसम्म अहिले कम्प्रेसरबाट अक्सिजन भर्न सकिने अवस्था रहँदैन ।
एशोसिएशनको सहयोगमा प्लान्ट र लायन्सको सहयोगमा कम्प्रेसर आए पनि त्यसको जडान र सञ्चालनका लागि आवश्यक पर्ने विद्युत्का लागि बजेट व्यवस्थापनको काम अस्पतालले नै गर्नुपर्ने भएको छ । त्यसका लागि झण्डै १२ लाख रुपैयाँभन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
अस्पतालमा भर्ना भएका बिरामीका लागि अक्सिजन आवश्यक परेमा अहिलेसम्म पोखराबाटै भरेर ल्याइएका सिलिन्डर प्रयोग हुँदै आएकोे छ । त्यसबाहेक अस्पतालमा प्रदेश सरकारको बजेटमा जडान गरिएको अक्सिजन प्लान्टबाट उत्पादन हुने अक्सिजनलाई शय्यासम्म पाइप लाइन जडान गरेर बिरामीलाई अक्सिजन दिने गरिएको थियो ।
डा. पौडेलका अनुसार जडान गर्न लागिएको प्लान्टबाट १ दिनमा ३५ सिलिन्डर अक्सिजन उत्पादन हुने भनिएको छ तर कम्प्रेसरले १ दिनमा कति सिलिन्डर ग्यास भर्न सक्छ भन्ने कुरा जडानको काम सकेपछि इन्जिनीयरले गर्ने प्राविधिक जाँचपछि मात्रै यकिन हुनेछ ।