
नेपाल क्लियरिङ हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्विचको पहिलो चरणको थालनी भएको छ ।
यसका लागि लिमिटेडले एनसीएचएल र २९ बैंक वित्तिय संस्थाहरुबीच बिहीवार एक औपचारिक कार्यक्रममा सम्झौता गरेको छ ।
एनसीएचएल तथा सम्बन्धित बैंक वित्तीय संस्थाका प्रतिनिधिहरुले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यमा उक्त कार्यक्रममा सम्झौता पत्र आदानप्रदान गरेका हुन् ।
साथै नेपाल राष्ट्र बैंकका वरिष्ठ डेप्युटी गभर्नर डाक्टर नीलम ढुङ्गाना तिम्सिना, डेप्युटी गभर्नर बम बहादुर मिश्र, नेपाल बैंकर्स संघ, डेभलप्मेन्ट बैंकर्स संघ तथा नेपाल फाइनान्सियल इन्स्टिट्युसन संघका अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो ।
नेपाल सरकारको बजेट तथा मौद्रिक नीतिमा समेत उल्लेख भए बमोजिम नेशनल पेमेन्ट स्वीचको स्थापनाको लागी नेपाल क्लियरिङ हाउसलाई गत आर्थिक वर्ष प्रारम्भिक स्वीकृती प्रदान गरिएकोमा पहिलो चरण कार्यान्वयनका लागि भने अन्तिम स्वीकृति २०७८ कात्र्तिक महिनामा दिइएको थियो ।
पेमेन्ट स्वीचको कार्यान्वयनका लागी हालसम्म १८ वटा वाणिज्य बैंकहरु, ५ वटा विकास बैंकहरु तथा ६ वटा फाइनान्स कम्पनीहरु गरी जम्मा २८ बैक वित्तीय संस्थाहरुले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।
कार्ड बाहेकका भुक्तानी प्रणालीबीच अन्तरआबद्धता कायम गर्दै डिजिटल भुक्तानीका थप उपकरण तथा सेवाहरु प्रदान गरिने गरी पहिलो चरणका लागि आवश्यक सम्पूर्ण तयारी भइसकेको लिमिटेडले जनाएको छ ।
नेशनल पेमेन्ट स्वीचको पहिलो चरणमा रिटेल पेमेन्ट स्वीचअन्तर्गत नेपाल–क्युआर स्ट्याण्डर्ड बमोजिम नेपालपे क्युआर तथा इन्टरनेटवर्क क्युआर, डाइरेक्ट डेबिट रिक्वेस्ट–टु–पे तथा इ–म्यान्डेटका उपकरणहरु, वालेट–वालेट बीचअन्तर आबद्धता, विभिन्न भुक्तानीका लागि बिल र गेटवे मार्फत अन्तरआबद्धता तथा पिएसओ सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु उपलब्ध हुने छन् ।
उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एपिआइकामार्फत बैंक वित्तिय संस्था तथा गैर बैंकिङ्ग संस्थाले आफ्ना ग्राहकलाई अन्य थप सेवा पनि प्रदान गर्न सक्नेछन् ।
त्यसै गरी दोश्रो चरणमा कार्ड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल कार्ड स्वीच र नेपालपेमेन्ट कार्डको आवश्यक काम अघि बढाइएको लिमिटेडले जनाएको छ ।