
रुसले भूउपग्रह ध्वस्त पार्ने क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएपछि अन्तरिक्षयानको सुरक्षाका विषयमा चिन्ता व्यक्त गरिएको छ । अन्तरिक्षमा प्रयोग गरिने हतियारहरूसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिहरूको अभाव त्यसभन्दा पनि चिन्ताजनक कुरा हो । यसले अन्तरिक्ष पनि युद्धभूमि बन्न सक्ने खतरालाई औंल्याएको छ ।
अमेरिकाले अन्तरिक्षमा हतियारमाथिको नियन्त्रणलाई विरोध गर्ने भए पनि शक्तिसन्तुलन परिवर्तन हुँदै जाँदा त्यसमा पुनर्विचार गर्न सक्ने देखिन्छ । मंगलवार मस्कोले परीक्षणको पुष्टि गर्दै पुरानो र बेकामे भइसकेको सोभियत निगरानी भूउपग्रहलाई ध्वस्त पारेको बतायो । भूउपग्रह ध्वस्त पार्दा कूडाकर्कट चारैतिर फैलिएपछि अमेरिकाले त्यस परीक्षणलाई गैरजिम्मेवार र लापरवाहीपूर्ण भनी आलोचना गरेको थियो ।
अन्तरिक्षको कबाडी (स्पेस जंक) भनिने वस्तुले भूउपग्रह तथा इन्टरनेसनल स्पेस स्टेसनलाई गम्भीर जोखिममा पार्छ । अन्तरिक्षमा उडिरहेका फोहरको डंगुरमा थप फोहर थप्नुबाहेक रुसले खासै गतिलो काम गरेको हैन । तर रुसको परीक्षणले अन्तर्राष्ट्रिय कानून तोडेको छैन किनकि अन्तरिक्षको फोहरलाई नियमन गर्ने बाध्यकारी कानूनी व्यवस्था नै छैन ।
रुसले गरेको परीक्षणप्रति पश्चिमले जनाएको प्रतिक्रियाको प्रतिनिधिमूलक भनाइ यूएस स्पेस कमान्डका कमान्डर जनरल जेम्स डिकिन्सनले व्यक्त गरे । उनका अनुसार, रुसले ‘सबै मुलुकका लागि अन्तरिक्षको सुरक्षा, रक्षा, स्थिरता तथा दिगोपनको मान्यतालाई जानाजान अपमान गरेको छ’ ।
‘हामी यस्तो किसिमको गतिविधिलाई सहँदैनौं,’ अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले बताए । अन्तरिक्षको फोहरका सम्बन्धमा अमेरिकाले गरेको गुनासो जायज छ तर रुसको परीक्षणले आफ्नो सैन्य प्रभुत्व गुमेको विषयमा अमेरिका बढी चिन्तित बनेको पो हो कि ?
विज्ञहरूले अन्तरिक्षको सैन्यीकरण तथा शस्त्रीकरण भिन्न रहेको बताएका छन् । सैन्यीकरण भन्नाले अन्तरिक्षलाई सञ्चार जस्ता सैन्य उद्देश्यका साथ उपयोग गर्नु हो भने शस्त्रीकरण भन्नाले विनाशकारी क्षमता भएका प्रणालीलाई अन्तरिक्षमा राख्नु हो । अन्तरिक्षको सैन्यीकरण उहिल्यै गरिएको हो । शस्त्रीकरण भने गर्न बाँकी छ ।
अन्तरिक्षमा हतियारको नियमन गर्ने एक मात्र कानूनी दस्तावेज सन् १९६७ को आउटर स्पेस ट्रीटी हो । त्यसले पृथ्वीको कक्षमा आणविक वा आमविनाशकारी हतियार राख्न प्रतिबन्ध लगाउँछ । हतियारमाथिको प्रतिबन्धलाई विस्तार गर्ने प्रयासहरू विफल भएका छन् किनकि अमेरिकाले त्यसको प्रतिकार गर्ने गरेको छ ।
केही रणनीतिकारहरूले अन्तरिक्षलाई सुरक्षित स्थानका रूपमा छोड्नुपर्ने र हतियारको नयाँ दौड गर्न नहुने तर्क गर्ने गरेका छन् । तर अमेरिकाको सैन्य वृत्तमा हतियारको होड अवश्यम्भावी रहेको अनि अमेरिकाले प्राविधिक विकास गरुन्जेल अरूभन्दा अघि रहिरहनुपर्ने सोच छ ।
यूएस स्पेस कमान्डका तत्कालीन कमान्डर इन चीफ जोसेफ डब्ल्यू एशीले सन् १९९६ मा भनेका थिए :
‘यो राजनीतिक रूपमा संवेदनशील कुरा हो तर यो अवश्यम्भावी छ । हामीले अन्तरिक्षमा लडाइँ गर्नेछौं । हामी अन्तरिक्षबाट युद्ध गर्नेछौं र अन्तरिक्षमा समेत युद्ध गर्नेछौं । त्यसैले अमेरिकाले निर्देशित ऊर्जा र मार्नका लागि हिर्काउने संयन्त्र विकसित गरिरहेको छ । पछि हामीले अन्तरिक्षबाट जहाज, विमान र जमीनमा रहेका लक्ष्यहरूलाई तारो बनाउनेछौं ।’
अमेरिकामा रोनल्ड रेगन राष्ट्रपति हुँदादेखि नै शक्तिशाली समूहहरूले अन्तरिक्षमा राखिएको ब्यालिस्टिक क्षेप्यास्त्रविरुद्धको रक्षा प्रणाली राख्न पैरवी गरिरहेका छन् । त्यसले पृथ्वीको कक्षमा हतियार प्रणाली राख्ने बाटो खोल्नेछ । यही कारणले गर्दा अमेरिकाले हतियार नियन्त्रणमार्फत आफ्नो हात बाँध्ने प्रयासलाई प्रतिकार गर्दै आएको छ । सन् २००६ मा अमेरिको नेसनल स्पेस पोलिसीले यस्तो घोषणा गरेको थियो– ‘अमेरिकाले अन्तरिक्षमा अमेरिकाको पहुँच वा प्रयोगलाई रोक्ने वा सीमा तोक्ने नयाँ कानून वा अन्य छेकवारको विरोध गर्नेछ । हतियार नियन्त्रण सहमति वा छेकवारले अन्तरिक्षमा अमेरिकाको राष्ट्रिय स्वार्थ पूरा गर्नका लागि गरिने अनुसन्धान, विकास, परीक्षण तथा अन्य कारवाही वा गतिविधि जस्ता अधिकारलाई रोक्न हुँदैन ।’
सन् २००८ मा चीन र रुसले अन्तरिक्षमा हतियार राख्न प्रतिबन्ध लगाउने सन्धि र अन्तरिक्षमा रहेका वस्तुमाथि बलप्रयोगविरुद्धको सन्धिको मस्यौदा प्रस्ताव गर्दा अमेरिकाले त्यसको विरोध गरेको थियो । अन्तरिक्षमा हतियारको दौड रोकथाम शीर्षकको प्रस्ताव निःशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलनको तदर्थ समितिले राखेको भए पनि अमेरिकाले सधैं त्यसका विरुद्ध मत दिने गरेको छ ।
यसमा अमेरिका र उसका पश्चिमी साझेदार एकातिर अनि रुस र चीन अर्कातिर रहेको कुरा पोहोर साल स्पष्ट भएको थियो । त्यतिबेला दुवै पक्षले बेग्लाबेग्लै राष्ट्रसंघीय प्रस्तावको समर्थन गरेका थिए । पहिलो प्रस्ताव बेलायतीहरूले राखेका थिए र त्यसमा अमेरिकीहरूले समर्थन जनाएका थिए । त्यसमा राष्ट्रसंघका सदस्यहरूलाई अन्तरिक्षमा जिम्मेवार व्यवहारसम्बन्धी मान्यता, नियम र सिद्धान्तको थप विकास तथा कार्यान्वयनका विषयमा धारणा साझा गर्न’ उत्प्रेरित गरिएको थियो । रुसले यो बेकामे प्रस्तावविरुद्ध मतदान गरेको थियो र यसले अन्तरिक्षको शान्तिपूर्ण अधिकारको आवश्यकता, अन्तरिक्षमा हतियार राख्ने कामलाई प्रतिबन्ध, बलप्रयोगको धम्की दिन नपाइने तथा जिम्मेवार व्यवहारको स्पष्ट रूपरेखासम्बन्धी प्रावधान समावेश नगरेको गुनासो गरेको थियो ।
त्यसको साटो रुसले अर्को मस्यौदालाई समर्थन गरेको थियो । त्यसका अनुसार, ‘हतियारको दौडबाट अन्तरिक्षलाई बाहिरै राख्ने र त्यसलाई शान्तिपूर्ण उद्देश्यका लागि सुरक्षित राख्ने काम राज्यको नीतिको अनिवार्य आवश्यकता बन्नुपर्ने र सबैले मान्यता दिएको अन्तर्राष्ट्रिय दायित्व बन्नुपर्ने’ घोषणा गरेको थियो । अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा लगायतका मुलुकले यो दह्रो प्रस्तावका विरुद्ध मतदान गरेका थिए । उनीहरू अन्तरिक्षको शस्त्रीकरण भन्दा पनि मूल्यमान्यता जस्ता अस्पष्ट कुरा गर्न मन पराउँछन् जस्तो देखिन्छ ।
हतियारमा नियन्त्रण गर्दा कमजोर पक्षलाई फाइदा पुग्छ र संसारको प्रभुत्वशाली सैन्यशक्तिको नाताले अमेरिकाले आफूलाई खुम्च्याउने कुरामा सहमति नगर्ने यस दृष्टिकोणबाट स्पष्ट हुन्छ । अन्तरिक्षमा हतियारको होड स्वागतयोग्य छैन तर त्यस्तो होड भएमा अमेरिकाको जीत हुन्छ भन्ने सोच हो । तर दुर्भाग्यवश अमेरिकाको जीत पक्का छैन र प्रविधिका क्षेत्रमा हालै भएका विकासले अन्तरिक्षका विषयमा अमेरिकाले बनाएका धेरै योजनाहरूलाई असान्दर्भिक बनाइदिएका छन् ।
सबभन्दा महत्त्वपूर्ण कुरा, रुसले हाइपरसोनिक ग्लाइड क्षेप्यास्त्र तैनाथ गरेर अमेरिकाले दशौं अर्ब डलर लगानीमा बनाएको ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई बेकामे बनाइदिएको छ । यी क्षेप्यास्त्रहरूका विरुद्ध अमेरिकीहरूले रक्षा प्रणाली विकसित गर्न सक्लान् तर त्यसको मूल्य निकै चर्को हुनेछ । अनि त्यस्तो प्रणाली तैनाथ गरुन्जेल नयाँ प्रणालीहरूले त्यसको तोड निकालिसकेका हुनेछन् । अमेरिकाले आफूलाई आणविक आक्रमणबाट प्रतिरक्षा गर्नका लागि अन्तरिक्षलाई शस्त्रीकरण गर्नुपर्छ भन्ने सोच नै गलत छ ।
रुसले भूउपग्रह ध्वस्त पार्ने परीक्षण गरी अमेरिकालाई उसको कमजोरी पहिचान गर्न र सम्झौताका लागि बाध्य बनाउन कोशिश गरेको हुन सक्छ । तर त्यसले काम नगर्न सक्छ । माथि उल्लेख गरिएबमोजिम विशाल रकम खर्च गर्न तयार शक्तिशाली अमेरिकी संस्थाहरूले यस्तो सम्झौता गर्न दिने छैनन् । यो दुःखद कुरा हो । अन्तरिक्षमा हतियारको दौडबाट सेनाका जनरल र हतियार निर्माताहरूलाई मात्र फाइदा पुग्छ । यो कुरा जति छिटो सबैले बुझ्छन्, त्यति राम्रो हुनेछ ।
आरटीमा प्रकाशित पल रबिन्सनको आलेखलाई लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।