श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले वैदेशिक रोजगारीलाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाइने बताएका छन् । वैदेशिक रोजगार बोर्डको सहयोगमा वैदेशिक रोजगार पत्रकार समाजले आज आयोजना गरेको ‘वैदेशिक रोजगारको वर्तमान अवस्था र सुधारका प्रतिबद्धता’ विषयक अन्तरक्रियामा उनले वैदेशिक रोजगार क्षेत्रलाई बेथिति मुक्त बनाउने प्रतिबद्धता व्यक्त गरे ।
“वैदेशिक रोजगारीमा जाने कुनै पनि श्रमिक ठगिनु हुँदैन भन्नेमा म दृढ छु”, उनले, “यस क्षेत्रलाई व्यवस्थित बनाउन भएका कानूनलाई कडाइका साथ कार्यान्वयन गरिन्छ ।” वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिक ठगिने क्रम नरोकिएको स्वीकार गर्दै उनले ठगीमा परेका श्रमिकको कुरा नसुनी आफूले कुनै पनि मुद्दाको पुनरावलोकन नगर्ने बताए ।
मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले वैदेशिक रोजगारीका लागि तोकिएको सेवा शुल्कभन्दा बाहिर ठूलो रकमको कारोबार हुने गरेको र त्यसबाट राज्य र श्रमिक दुवै पक्ष ठगिएकाले सेवा शुल्कका बारेमा पुनःविचार हुनुपर्ने बताए । वैदेशिक रोजगार अध्येता रामेश्वर नेपालले वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन यससँग सम्बन्धित कानून कार्यान्वयनमा जोडदिनुपर्ने बताए ।