काठमाडौँ, ११ असार- डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको सुत्ने कोठा बनेको छ । अदालतले भ्रष्टाचारी ठहर गरेपछि बिहीबार आफैँ उपस्थित भई उनीहरू जेल गएका थिए । तर, डिल्लीबजार जेलमा सुत्ने पर्याप्त ठाउँ छैन । जसका कारण पूर्वआइजिपीहरू लाइब्रेरी कोठामा सुत्न बाध्य छन् । पढ्ने कोठा भएकाले त्यहाँ सुत्ने खाटसमेत छैन । उनीहरू भुइँमै सुत्छन्, नयाँ पत्रिकामा खबर छ ।

हरेक जेलभित्र जेलर र प्रहरीको आन्तरिक व्यवस्थापन हुन्छ । जहाँ कैदीमध्येबाटै भाइ नाइके, नाइके र चौकीदार छानिन्छन् । उनीहरूले नै जेलभित्र अनुशासनलगायत सबै किसिमको व्यवस्थापन गर्छन् ।
डिल्लीबजार जेलमा खाग तस्करीको आरोपमा जेल परेका यामकुमार पुन चौकीदार छन् । उनै पुनको निर्देशनअनुसार पूर्वआइजिपीहरू जेलमा चल्नुपर्ने हुन्छ । बिहीबार पुनले जेलको नियमबारे पूर्वआइजिपीहरूलाई जानकारी गराएका थिए । जेलभित्रै मेसमा उनीहरू लाइन बसेर खाना खाने गरेका छन् ।