
काठमाडौं, १६ पुस– पूर्वी नेपालको झापामा आइतवार ‘प्रेमवादी’हरूले धार्मिक समारोह आयोजना गरेका छन् ।
मौलिक नेपाली दर्शन प्रेमवाद या हेभन्लीपाथका प्रवर्तक गड्यान्जलको नेतृत्वमा यो कार्यक्रम हुन लागेको हो । झापाको लखनपूरस्थित आदिवासी रंगशालामा हुन लागेको उक्त कार्यक्रमलाई उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
दुखहरण पुजा नाम दिइएको सो कार्यक्रममा पृथ्वी, मान्छे र सबै प्राणीहरुले सबै प्रकारका हिंसा र दुःखबाट मुक्ति पाउन् भनेर पुजा गर्ने कार्यक्रम रहेको गड्यान्जलका निजी सचिव सुरविन वान्तवाले जानकारी दिए । कार्यक्रममा सबै धर्मसम्प्रदायका धर्म गुरुहरूको उपस्थिती रहनेछ ।

उदयपुरको मैनामनीमा जन्मेका भक्तकुमार राई नै आजका गड्यान्जल हुन् । सानै उमेरमा शान्तिको खोजमा हिँडेका उनले अहिले खासगरी पूर्वी नेपाललाई आधार बनाएर धार्मिक र आध्यात्मिक जागरणका कार्यक्रमहरू चलाएका छन् ।
सन् २००४ मा उनले मानव र जीवशान्तिका पक्षमा पुर्याएको योगदानको कदर गर्दै राईलाई भारतको मुम्बईमा विभिन्न धार्मिक सम्प्रदायका गुरूहरूको उपस्थितीमा ‘हिज होलिनेस’ सम्मान दिइएको थियो ।
गड्यान्जल खासगरी राईलिम्बु समुदायमा जाँडरक्सी र माछामासुको संस्कार हटाएर योग र ध्यान फैलाउने काममा चिनिएका छन् । यसअघि यस्तो खालको पुजा सुनसरी, दमक, झापा र भारतको सिक्किममा समेत भइसकेको छ ।
सन् २०११ देखि यस्तो खालको पुजा गर्न शुरु गरिएको वान्तवाले जानकारी दिए । भारत, युरोप, अमेरिका, क्यानडा, चीन, हङकङ र ब्रुनाईमा रहेका नेपालीभाषीहरूबीच पनि गड्यान्जलको राम्रो प्रभाव रहेको छ ।
आइतवारको कार्यक्रममा नेपालबाहेक ३० देशबाट प्रतिनिधिहरू आउने क्रम जारी रहेको राईले जानकारी दिए । वान्तवाले कार्यक्रममा १ लाख बढि श्रद्धालु र सहभागी आउने बताए र कार्यक्रमलाई व्यवस्थित पार्न हेभन्लीपाथका ५०० बढि स्वयंसेवक र ठूलो शंख्यामा सरकारी सुरक्षाकर्मीहरू परिचालित भएको बताए ।