१२ असार २०८३, शुक्रबार

शिक्षकहरू सक्रियतापूर्वक राजनीतिमा लाग्नुपर्छ, पार्टीलाई बचाउनुपर्छ : प्रचण्ड

शिक्षकहरू सक्रियतापूर्वक राजनीतिमा लाग्नुपर्छ, पार्टीलाई बचाउनुपर्छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षकहरुलाई राजनीति गर्न नदिए नेपालको पार्टी प्रणाली नै कमजोर हुने बताएका छन् ।

मंगलवार पार्टी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिको एकताको दोस्रो राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले शिक्षकहरू सक्रियतापूर्वक राजनीतिक रूपान्तरणको काममा लाग्नुपर्ने बताए ।

नेपालका सबै पार्टीलाई जनतामा स्थापित गराउने काम शिक्षकहरूले नै गरेको भन्दै उनले शिक्षकहरूले राजनीति गर्नु हुँदैन भन्नु पार्टी प्रणालीलाई नै कमजोर पार्ने नीति भएको बताए । उनले शिक्षकहरूलाई प्राविधिक रूपमा अप्ठ्यारो नपर्ने गरी राजनीति गर्ने वातावरण बनाइने पनि बताए ।

उनले भने, ‘नेपालमा जतिपनि पार्टीहरू छन् । सबै शिक्षकहरूकै योगदानका कारण ती पार्टीहरू छन् । सबभन्दा बढी गाउँघरमा मजदुर, किसानसँग एकाकार भएर राजनीतिक दलहरूलाई स्थापित गराउने र राजनीतिक विचारलाई, राजनीतिक कार्यदिशा, नीति, योजना कार्यक्रमहरूलाई जनताको बीचमा लैजाने शिक्षकहरू नै हुन् । अब शिक्षकहरूले राजनीति गर्नुहुन्न भनिदिएपछि त्यो पार्टी सिस्टमलाई नै कमजोर पार्ने नीतिबाहेक केही हुने छैन । त्यसकारण म त के भन्छु भने शिक्षकहरू अझ सक्रियतापूर्वक समाजसेवामा, सामाजिक रूपान्तरणका काममा, राजनीतिक रूपान्तरणका काममा लाग्नुपर्नेछ । लागेर मात्रै हामी सामाजिक र राजनीतिक रूपान्तरणको महान अभियानमा देशलाई लैजान सकिन्छ । अब टेक्नीकल्ली के गर्नुपर्छ भन्ने बिल्कुल गौण कुरा हो । त्यो सहायक कुरा हो । टेक्नीकल्ली तपाईंहरूलाई अप्ठ्यारो नपर्ने गरी सक्रियतापूर्वक जनताको बीचमा काम गर्ने वातावरण बनाइन्छ, बनाउनुपर्छ । तपाईंहरू द्विविधामा नरहनुहोला ।’

अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई राज्यले अन्याय गरेको पनि बताए । शिक्षकहरूलाई राज्यले विभेदमा पारेका कारण शिक्षकहरूले आन्दोलन गर्नुपरेको र क्रान्तिकारी हुनुपरेको उनको भनाई छ । उनले भने, ‘हामीकहाँ शिक्षक भनेपछि सबभन्दा बढी विभेदमा पारिएको बौद्धिक जमातजस्तो मानिन्छ । यो नेगेटिभ कुरा हो, यसलाई हामीले पोजेटिभमा बदल्नु छ तर यो नेगेटिभ भित्रको हामीलाई पोजेटिभ के भयो भने त्यसै भएको हुनाले शिक्षक मजदुर, किसानसँग एकाकार भएर मजदुर किसानको आन्दोलनलाई साथ दिने, राजनीतिक क्रान्तिलाई साथ दिने हुन गएको कारण पनि त्यही हो । नत्र अमेरिकाको जस्तै शिक्षकहरु तपाईंहरू पनि भएको भए के को आन्दोलनकारी हुने ? तपाईंहरूमाथि राज्यले अन्याय गरेको छ । त्यसकारण तपाईंहरू क्रान्तिकारी हुनुभएको तर सधैं यही हुनुपर्छ भन्न खोजेको होइन मैले त्यो चाहिँ नबुझ्नुहोला ।’
 

salt training

कमेन्ट गर्नुहोस्