१५ असार २०८३, सोमबार

विमान उड्दै गर्दा पाइलटको ड्युटी सकिएको भन्ने प्रकरणमा निगमले दियो यस्तो प्रस्टीकरण

विमान उड्दै गर्दा पाइलटको ड्युटी सकिएको भन्ने प्रकरणमा निगमले दियो यस्तो प्रस्टीकरण

काठमाडौंबाट रुकुम (सल्ले) जानुपर्ने जहाज नेपालगञ्जमै अवतरण गराइएको विषयका टीकाटिप्पणी भएपछि वायुसेवा निगमले घटनाको विवरण सार्वजनिक गरेको छ । 

निगमका अनुसार आइतवार बिहान ६ः१५ मा उडान हुने जहाजका लागि कर्मचारीहरूलाई सवा ५ बजे बोलाइएको थियो तर, मौसम प्रतिकूलताका कारण उडान रद्द गरिएको थियो । 

यद्यपि मौसममा क्रमिक सुधार आएपछि दिउँसो सवा २ बजे पुनः उडान भर्ने तयारी गरिएपछि घर फर्किएका यात्रु आएर उडान भर्दा २ः५८ बजेको निगमले जनाएको छ । 

‘काठमाडौं–रुकुम (सल्ले) उडान भरिसक्दा अपरान्हको कम्तीमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ बिहान सवा ५ बजेदेखि नै ड्युटी शुरू भएको विमान चालकको ड्युटी आवर ४ बजे पूरा भइसक्ने र तोकिएको 'ड्युटी आवर'भित्र रुकुम पुगेर नेपालगञ्ज फर्किन असमर्थ हुने अवस्था आएपछि नेपालगञ्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

पाइलटको फ्लाइट ड्युटी अवधि दैनिक १० घण्टाको सीमा निर्धारण गरिएको हुन्छ । रुकुम र नेपालगञ्ज जाने यात्रुहरूलाई काठमाडौंमै राखिरहनुभन्दा नेपालगञ्जसम्म पुर्‍याएर रुकुम जाने यात्रुहरूलाई होटलमा राखेर भोलिपल्ट बिहानै रुकुम पुर्‍याउनुपर्ने अवस्था बाध्यता र उचित निर्णय भएको पनि निगमले स्पष्ट पारेको छ । 

यस्तै निगमले विमानको न्यूनताका कारण अर्कोदिनको उडान तालिकामा असर नपरोस् भनेर अन्तिम विकल्प स्वरुप त्यस्तो निर्णय लिइएको र यस्ता घटना अब उप्रान्त दोहोरिन नदिने पनि प्रतिबद्धता जनाएको छ ।

रूकुम लैजानुपर्ने जहाज पाइलटले ड्युटी आवर सकिएपछि नेपालगञ्ज अवतरण गराएको भन्दै आलोचना भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्