
शिवम् सिमेन्ट लि. ले आँबुखैरेनी, मुग्लिन, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरूसँग परामर्श तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरेको छ । सो अन्र्तक्रिया कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरूको ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको थियो ।
‘दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन्,’ शिवम् सिमेन्टले भनेको छ, ‘उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो ।’

पहिलो चरणअन्तर्गत भदौ तथा असोज महिनामा काठमाडौं, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा एक हजार भन्दा बढी निर्माणकर्मीहरूसँग प्राविधिक अन्तक्र्रिया गरी उनीहरूको जोखिम बीमा गराइसकेको कम्पनी प्रतिनिधिले बताएका छन् ।
अन्तक्र्रिया कार्यक्रममा दक्ष एवम् अनुभवी प्राविधिकद्वारा सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको थियो ।
शिवम् सिमेन्टले आगामी दिनहरूमा समेत शिवम् सिमेन्टका विक्रेताहरूसंँगको समन्वयमा यस अन्तक्र्रिया तथा निशुल्क बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ ।