२७ जेठ २०८३, बुधबार
एमाले महाधिवेशन

एमाले महाधिवेशनको तेस्रो दिन : पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै ओली

मंसिर १२, २०७८
एमाले महाधिवेशनको तेस्रो दिन : पदाधिकारीसहित ३०१ केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दै ओली
फाइल फोटो

नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको तेस्रो दिन आइतवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दैछन् ।

बन्दसत्रको हलले शनिवार अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीलाई नाम प्रस्ताव गर्ने अधिकार दिएको छ । 

एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने र त्यसका लागि सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै यसअघिका संगठन विभाग प्रमुख एवं अध्यक्ष मण्डलका सदस्य विष्णु पौडेलले सहमतिमा नेतृत्व चयन गर्ने प्रस्ताव गरेका थिए । 

त्यसमा उनले अध्यक्षलाई केन्द्रीय कमिटी र केन्द्रीय निकायका सदस्यहरूको नाम प्रस्ताव गर्ने अधिकार दिन बन्दसत्रको हलमा प्रस्ताव गरेका थिए । 

उनको प्रस्तावलाई हलले अनुमोदन गरेको थियो । उपाध्यक्ष भीम रावलले भने त्यसमा विरोध जनाएका छन् ।

केन्द्रीय सदस्य र ३ वटा केन्द्रीय आयोगहरू अनुशासन, लेखा र निर्वाचन आयोगका सदस्य बन्दसत्रको हलमा सिफारिस गर्न ओली आइतवार विहानदेखि नै गृहकार्यमा छन् ।

ओलीलाई नेताहरू शंकर पोखरेल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ लगायतका नेताले सघाइरहेका छन् ।

ओलीले केन्द्रीय सदस्यको नाम प्रस्ताव गर्दा भीम रावलले आपत्ति जनाए उनको पक्षमा रहेका प्रतिनिधिलाई हलमा हात उठाउन लगाएर उनको जनमत देखाइदिने तयारीमा संस्थापन पक्ष रहेको ओलीनिकट स्रोत बताउँछ ।

एमालेले आइतवार नेतृत्व चयनको काम सक्ने र सोमवार बिहान चितवन घोषणापत्र जारी गरेर महाधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ । 

एमालेको दशौं राष्ट्रिय महाधिवेशन मंसिर १० गते चितवनको नारायणी नदी किनारमा भव्य रूपमा उद्घाटन भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्