३१ असार २०८३, बुधबार
एमाले महाधिवेशन

१० बजे शुरू हुने भनिएको बन्दसत्र ४ घण्टा ढिला : ओली छलफलमा, प्रतिनिधि रनभुल्लमा !

मंसिर १२, २०७८
१० बजे शुरू हुने भनिएको बन्दसत्र ४ घण्टा ढिला : ओली छलफलमा, प्रतिनिधि रनभुल्लमा !
फाइल तस्वीर।

नेकपा एमाले महाधिवेशनको अन्तिम दिनको बन्दसत्र तोकिएको समयभन्दा चार घण्टा ढिला हुँदासमेत शुरू हुन सकेको छैन । 

महाधिवेशनबाट निर्वाचित हुने पदाधिकारी, केन्द्रीय सदस्य र निकायका पदाधिकारीको सूची बन्न ढिला हुँदा बन्दसत्र शुरू हुन नसकेको हो । 

बन्दसत्र बिहान १० बजे शुरू हुने भनिएको थियो । 

बन्दसत्रको हलबाट सहमतिको खाका ल्याउने अधिकार पाएका अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओली सूची बनाउन व्यस्त छन् । मुख्य पदाधिकारीमा सहमति जुटाउन नसक्दा बन्दसत्र शुरू गर्न ढिला भएको हो ।

वरिष्ठ उपाध्यक्ष र महासचिवमा ओली पक्षीय नेताहरूबीच नै सहमति जुट्न नसक्दा बन्दसत्र ढिला भएको हो । ओलीलाई भेटेर फर्किएका नेता ईश्वर पोखरेलले अबको केहीबेरमै बन्दसत्र शुरू हुने जानकारी दिएका छन् । 

महासचिवमा विष्णु पौडेल कि शंकर पोखरेल भन्ने अझै टुंगो लागेको छैन । वरिष्ठ उपाध्यक्षमा ओलीले ईश्वर पोख्रेलको नाम अगाडि सारे पनि सुवास नेम्वाङले उपाध्यक्षमा मात्र नबस्ने बताएका छन् । 

भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने भन्दै प्रचारप्रसार गरिरहेकाले महाधिवेशन मतदान प्रक्रियामा जाने सम्भावना पनि छ । अन्य पदमा सर्वसम्मति भए पनि अध्यक्षमा चुनाव हुने सम्भावना छ । 

विद्युतीय मतदान हुने भएकाले मतदानको अवस्था आए पनि छिट्टै मतगणना हुने आयोजकले जनाएका छन् । 

शनिवारको बन्दसत्र पनि ५ घण्टा ढिला शुरू भएको थियो । शुक्रवारबाट शुरू महाधिवेशन नयाँ नेतृत्व चयन गर्दै आजै समापन गर्ने तयारी छ । 

आज नेतृत्व चयन गर्ने र भोलि सौराहमै घोषणा सभा गर्ने तयारी रहेको एक नेताले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्