
नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा दाबी गरेका नेता ईश्वर पोखरेलले वरिष्ठ उपाध्यक्ष आफूले पाउनुपर्ने नभए पद नै खारेज गर्नुपर्ने माग गरेका छन् ।
अध्यक्ष मण्डलका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले यस्तो माग गरेका हुन् ।
‘वरिष्ठ उपाध्यक्ष मैले पाउनुपर्छ नभए पद खारेज हुनुपर्छ,’ पोखरेलको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।
दुई नेताले दाबी नछाडेपछि पदाधिकारीको सूची बनाउने जिम्मा पाएका केपी ओली अप्ठेरोमा परेका छन् ।
ओलीले निवर्तमान महासचिव ईश्वर पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाउने तयारी गरेपछि सुवास नेम्वाङले असन्तुष्टि जनाएका छन् ।
नेम्वाङले पनि आफ्नो असन्तुष्टि ओली समक्ष पुर्याएका छन् । ओलीले भविष्यमा राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वासन दिएका थिए । तर, नेम्वाङले वरिष्ठ उपाध्यक्षबाहेक अरूमा सहमत नहुने सन्देश पठाएका हुन् ।
विगतमा संविधान सभा अध्यक्ष, सभामुख बनिसकेको र अहिले पनि संसदीय दलको उपनेता रहेकोले आफू वरिष्ठ उपाध्यक्ष भन्दा तलको पदमा नबस्ने नेम्वाङले बताएका छन् ।