२४ जेठ २०८३, आइतबार
एमाले महाधिवेशन

फ्ल्यास ब्याकः नवौं महाधिवेशनमा ओलीले पाएका थिए १०७४ मत, यस्तो थियो रावल र भुसालको पोजिसन

मंसिर १३, २०७८
फ्ल्यास ब्याकः नवौं महाधिवेशनमा ओलीले पाएका थिए १०७४ मत, यस्तो थियो रावल र भुसालको पोजिसन

नेकपा एमालेको नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच सोमवार चुनावी प्रतिस्पर्धा हुँदैछ । 

सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको प्रस्तावलाई चुनौती दिँदै भीम रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि दुई नेताबीच प्रतिस्पर्धा हुन लागेको हो । 

व्यक्तिले नेतृत्व छान्ने प्रणाली पार्टी विधानको भावनाविपरीत रहेको भन्दै रावलले ओलीविरुद्ध उम्मेदवारी दिएका हुन् । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा केपी ओलीले माधव नेपाल भन्दा ४४ भोट बढी ल्याएर अध्यक्ष निर्वाचित भएका थिए । ओलीले एक हजार ४७ भोट पाउँदा माधव नेपालले एक हजार ३ भोट पाएका थिए ।

आठौं महाधिवेशनमा भने झलनाथ खनालसँग ओली ११७ मतले पराजित भएका थिए । २०६५ फागुनमा बुटवलमा भएको महाधिवेशनमा खनालले ९१३ मत पाउँदा ओलीले ७९६ मत पाएका थिए । 

नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका रावलले एक हजार १४३ मत पाएका थिए । उपमहासचिव निर्वाचित भएका घनश्याम भुसालले भने एक हजार ९७ मत पाएका थिए ।

दशौं महाधिवेशनमा दुई हजार १५३ प्रतिनिधिले मत हाल्न पाउने छन् । आठौं र नवौँ महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्ने गरिएकोमा यसपटकदेखि एमाले विधानले प्यानल बनाउन निषेध गरेका कारण उम्मेदवारहरू एक्लाएक्लै चुनावी मैदानमा छन् । 

आठौँ र नवौँ महाधिवेशनमा खनाल र नेपाललाई भोट हालेका कयौँ प्रतिनिधि नेकपा (एस) तिर लागेका छन् । उपाध्यक्षमा उम्मेदवारी दिएका घनश्याम भुसालले ‘हार्नको लागि भए पनि उम्मेदवारी दिने मौका’को माग गरेका थिए । 

उम्मेदवारी दर्ता गराएपछि भुसालले उपाध्यक्षका लागि आफू योग्य रहेकोले प्रतिनिधिले विश्वास गर्ने भन्दै मत मागिरहेका छन् । उनले आफू उपाध्यक्ष निर्वाचित हुनेमा ढुक्क रहेको बताएका छन् ।

अध्यक्षका प्रत्यासी रावलले १ भोट आए पनि आफू चुनावी मैदानमा उत्रिने बताएका थिए । प्रतिनिधि छनोटदेखि नै ओली पक्ष हाबी भएका कारण अध्यक्ष, उपाध्यक्षसहित मतदान हुने पदमा ओलीले प्रस्ताव गरेका उम्मेदवार नै निर्वाचित हुने सम्भावना छ । 

salt training

कमेन्ट गर्नुहोस्