दक्षिण अफ्रिकामा सफारीमा गएका पर्यटकहरू बसेको जीपमा विशाल हात्तीले आक्रमण गरेपछि उनीहरूको भागाभाग भएको छ ।
क्रुगर राष्ट्रिय निकुञ्जमा आइतवार प्रशिक्षण लिइरहेका गाइडहरूको गाडीमा भाले हात्तीले आक्रमण गरेको थियो । हात्तीको यौनको सीजन भएकाले ऊ आक्रामक बनेको बताइएको छ ।
घटनाको भिडियोमा खुला जीप साँघुरो बाटो हुँदै जाँदा हात्ती अचानक आइपुगेको अनि गाडीलाई सडकबाट उठाएको देखिन्छ ।
तेह्र फीट अग्लो हात्तीले गाडी पल्टाइदिएपछि तीनजना महिला विद्यार्थीहरू ज्यान जोगाउन भागेका थिए ।
हात्तीको दाह्रा जीपमा धसेर ध्वस्त पारेको थियो । उसले गाडीको एक छेउ कुच्याइदिएको थियो अनि अगाडि र पछाडिको सीट बंग्याएर भत्काइदिएको थियो ।
प्रशिक्षण लिइरहेकाहरूलाई सफारी लज लगेर मनोवैज्ञानिक परामर्श दिइएको थियो । उनीहरूलाई चोटपटक लागेको छैन ।
हात्तीको झुण्ड पर गएपछि गाडी लिन कर्मचारीहरू पुगेका थिए ।
गाडीहरू ढोइको नजिक गएपछि रिसाएको मत्ता हात्तीले आक्रमण गरेको विश्वास गरिएको छ ।