२५ जेठ २०८३, सोमबार
सन्दर्भ नाडाको अधिवेशन

म अध्यक्ष निर्वाचित भएमा नाडालाई नवीन सोचका साथ अगाडि बढाउनेछु– करण चौधरी [अन्तर्वार्ता]

मंसिर १४, २०७८
म अध्यक्ष निर्वाचित भएमा नाडालाई नवीन सोचका साथ अगाडि बढाउनेछु– करण चौधरी [अन्तर्वार्ता]

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)को निर्वाचन आगामी मंसिर २२ र २३ गते काठमाडौंमा हुँदैछ । 

२ वर्षीय कार्यकालका लागि यस निर्वाचनबाट नाडाले नयाँ नेतृत्व पाउने छ । 

नयाँ नेतृत्वका लागि सुजुकी कारको नेपालका लागि आधिकारिक विक्रेता सीजी मोटोकर्प तथा सीजी होल्डिङ्सका कार्यकारी निर्देशक करण चौधरीले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

उनको उम्मेदवारी घोषणासँगै नाडाको कार्यकाल युवा पुस्ताले हाँक्ने चर्चा चल्न थालेको छ । 

यसबीचमा नाडाको अध्यक्षका प्रत्यासी करण चौधरीसँग लोकान्तरले उनको उम्मेदवारी र भावी रणनीतिका बारेमा कुराकानी गरेको छ । 

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश:

१. केही वर्ष अघिसम्म विलासिताको साधन भनेर चिनिने र अहिले अत्यावश्यक साधनको रूपमा परिभाषित हुँदै गरेको अटोमोबाइल क्षेत्रमा सर्वसाधारण नागरिकको पहुँच कत्तिको पुगेको छ ?

हो, अटोमोबाइल अहिले अत्यावश्यक साधन बनेको छ । तर दुर्भाग्य भन्नुपर्छ, निजी साधनमा पहुँच अझै पनि सहज छैन । आजको दिनमा पनि दुईपांग्रे वा चारपांग्रे साधन किन्नका लागि आर्थिक योजना नै बनाउनुपर्ने अवस्था छ । गाडी किन्नलाई ऋण दिने विषयमा सरकारको अडान हतोत्साहित पार्ने किसिमको छ । हामीले गाडीको आयातमा लगाइने उच्च करका विषयमा त झन् कुरै गरेका छैनौं ।

२. देशको अर्थतन्त्रको ठूलो हिस्सा ओगट्ने अटोमोबाइल व्यवसाय क्षेत्रको नेतृत्वको तयारी गर्दा के सोच बनाएर मैदानमा आउनुभयो ? 

यस संस्थाको नेतृत्व गर्नु ठूलो जिम्मेवारी हो । यसले देशको अर्थतन्त्रलाई हाँक्ने क्षेत्रलाई प्रतिनिधित्व गर्छ । पूर्व तथा बहालवाला नेतृत्वले गरेका विभिन्न प्रयास तथा योजना कार्यान्वयनको म प्रशंसा गर्छु । त्यसैलाई म अघि बढाउने सोचमा छु । युवा ऊर्जा र अनुभवलाई सन्तुलन गर्ने कुरामा म विश्वास गर्छु ।

त्यसैले म यस पदका लागि लड्न खोज्दैछु । देशमा अटो व्यवसायीहरूका लागि थप सहज वातावरण बनाउन तथा उनीहरूका लागि नाफा बढाउन म प्रतिबद्ध छु । नाडाको उपस्थितिलाई प्रदेश स्तरमा पुर्‍याउने काम पनि यसैअन्तर्गत पर्दछ । म थप राम्रो प्रशासन चलाउन तथा संस्थाको पारदर्शिता कायम गर्न डिजिटाइजेसनलाई महत्त्व दिने पक्षमा छु । 

३. नाडामा तपाईंको उम्मेदवारीलाई हेर्दा नयाँ जेनेरेसनमा पुस्तान्तरण हुन खोजेको देखिन्छ । अटोमोबाइल व्यवसायमा युवाहरूलाई कसरी आकर्षण गर्ने योजना बनाउनुभएको छ ?

अटो व्यवसायमा म जस्तो नयाँ पुस्ताको नेतृत्व आउन खोज्दैछ र यस क्षेत्रका लागि यो सुखद संकेत हो । युवापुस्ताको ऊर्जा र सोचसँग मेरा पूर्ववर्तीहरूको अनुभव पनि मिसिँदा यस उद्योगमा नवप्रवर्तनले गति पाएको छ । म युवा सहभागितालाई पूर्णतः प्रवर्धन गर्न चाहन्छु । म निर्वाचित भएमा नाडाको नयाँ नेतृत्व नवीन सोचका विषयमा खुला रहनेछ र नवप्रवर्तनलाई कार्यान्वयन गर्नका लागि वातावरण बनाउन काम गर्नेछ । 

४. नाडाले विगतका केही वर्षदेखि नै सरकारले आफूलाई बेवास्ता गरेको गुनासो राख्दै आइरहेको छ । सरकारसँग नीति निर्माणका लागि कसरी समन्वयकारी भूमिका खेल्नुहुन्छ ? 

नाडा र सरकारले अनुकूल वातावरण बनाउनका लागि सँगै मिलेर काम गर्नुपर्छ । अटो व्यवसायले देशको अर्थतन्त्रमा सबभन्दा धेरै योगदान गर्छ र यस क्षेत्रको आवाज उठाउने नाडाले नै हो । अटो व्यवसायसँग सम्बन्धित विभिन्न एजेन्डाहरूलाई नाडाले संयुक्त रूपमा उठाएको छ । हामीले नीतिगत छलफलका लागि सरकारसँगको सहभागितालाई हालैका दिनमा बढाइरहेका छौं । 

५. एकातिर, कोरोना महामारीपछि नेपालमा अटोमोबाइल व्यवसाय निकै नै प्रभावित भएको भनिन्छ । अर्कातिर, सरकारले विद्युतीय सवारी साधनमा जोड दिइरहेको अवस्था पनि सँगै छ । थलिएको व्यवसायलाई पुनः माथि उठाउन तपाईंले के गर्नुहुन्छ ?

विद्युतीय सवारी अटो व्यवसायको आगामी कदम हो । यसलाई सर्वसुलभ बनाउनका लागि हामीले धेरै काम गर्न बाँकी छ । त्यसका लागि सार्वजनिक र निजी स्तरको प्रयास आवश्यक छ । सरकारले देशमा विद्युतीय गाडीका लागि अनुकूल पूर्वाधार बनाउनुपर्छ । विद्युतीय गाडीको उपयोग बढिरहेको भए पनि नेपालमा त्यसको पूर्वाधार अझै पनि सोचेजस्तो छैन । 

६. काठमाडौं उपत्यका लगायत प्रमुख शहरी क्षेत्रमा ट्राफिक जाम एउटा भयावह समस्याको रूपमा देखिँदैछ । कतिपयले धेरै गाडी भएर जाम भयो भन्छन्, व्यवस्थापनको कमजोरी हो कि साँच्चिकै गाडी धेरै भएका हुन् ? यही क्षेत्रको सरोकार राख्ने भएकोले जाम व्यवस्थापनमा तपाईंहरूको भूमिका के हुन्छ ?

नाडाले ट्राफिक प्रहरी विभागसँग मिलेर सचेतना तथा सुरक्षाका विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।

अहिले हाम्रो देशका सडकहरू अरू देशको जस्तो सुरक्षित छैनन् । सरकारले यसमा ध्यान दिनुपर्ने हुन्छ । नागरिकका रूपमा सडक अनुशासनका विषयमा हामी आफैं पनि सचेत हुनुपर्छ । त्यसरी अनुशासन पालन गर्दा सडकको जामबाट पनि मुक्ति पाइन्छ । सडक सुरक्षाका लागि हामीले सचेतना सम्बन्धी अन्य धेरै कार्यक्रमहरू सञ्चालन गर्नेछौं ।

salt training

कमेन्ट गर्नुहोस्