२८ जेठ २०८३, बिहीबार
लोकान्तर राउण्ड अप

जनादेशसहित पुनः सत्तामा स्थापित हुने एमालेको उद्घोष

मंसिर १५, २०७८
जनादेशसहित पुनः सत्तामा स्थापित हुने एमालेको उद्घोष

आज मिति २०७८ साल मंसिर महिनाको १५ गते, बुधबार । बितेको २४ घण्टामा भएका प्रमुख घटनाक्रमलाई यहाँ प्रस्तुत गरिएको छ । मंगलबार नेकपा एमालेको १० औं महाधिवेशन सम्पन्न भयो । मंसिर १० देखि चितवनमा भएको महाधिवेशन अध्यक्षमा केपी शर्मा ओलीलाई चयन गर्दै सम्पन्न भएको हो । यस्तै पदाधिकारीसहित ३०१ जनाको केन्द्रीय कमिटी पनि चयन भएको छ । एमालेले महाधिवेशसँगै पार्टीलाई थप शक्तिशाली बनाउने उद्घोष गरेको छ ।  महाधिवेशन समापन समारोहलाई सम्बोधन गर्दै  ओलीले घमन्डी र अहंकारी नेता नहुने बताए । ओलीले नेताहरू जनताको सेवक भएको पनि बताए । उनले सबै नेतालाई सभ्य र सरल हुन आग्रह गरेका छन् ।
०००००
महाधिवेशन सम्पन्न भएसँगै चितवनमै एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्यो । बैठकले कुनै निर्णय नगरे पनि ओलीले सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा ओलीले पार्टीलाई निर्वाचन केन्द्रीत बनाएर देशको शक्तिशाली पार्टी बनाउने बताएका छन् ।

केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने पनि उनले जानकारी दिए ।
००००
यसैबीच एमालेको पदाधिकारीमा पराजित नेताहरू भीम रावल र घनश्याम भुसाल केन्द्रीय सदस्यमा विजयी भएका छन् । मतपरिणाम अनुसार रावल र भुसाल केन्द्रीय समितिमा निर्वाचित भएका हुन् ।
केन्द्रीय सदस्य भीम रावलले ९०४ मत र घनश्याम भुसालले १२६४ मत ल्याएका थिए । रावल अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित भएका थिए । रावल उपाध्यक्षमा पराजित भएका थिए ।
रावलले निर्वाचन समितिलाई आफू केन्द्रीय सदस्यमा नरहने जानकारी दिएका छन् ।
००००
एमालेको १०औं महाधिवेशनले १७ बुँदे घोषणापत्र जारी गरेको छ । नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।
घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ ।
००००
सर्वोच्च अदालतमा आज बुधबारबाट गोला प्रणालीमार्फत इजलास र पेसी तोकिँदैछ । यसअघि प्रधानन्यायाधीशले इजलास र पेसी तोक्दै आएकामा सर्वोच्च अदालतको इतिहासमै पहिलो पटक गोला प्रणालीमार्फत पेशी तोकिन लागेको हो ।
००००
सरकारले जनस्वास्थ ऐनलाई देखाएर मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थ लगायतका जनस्वास्थ्यमा प्रतिकुल असर पर्ने कुनै पनि विज्ञापन सामग्रीको उत्पादन, वितरण प्रचार प्रसार नपाउने गरी विज्ञप्ति जारी गरेपछि सरोकारवाला निकायहरूले ध्यानाकर्षण गरेका छन् ।

मंगलवार विभिन्न ६ संगठनले संयुक्त विज्ञप्ति जारी गर्दै विज्ञापन बोर्डले पछिल्लो पटक गरेका निर्णयले उद्योगव्यवसाय धरासायी हुनुका साथै रोजगारीमा समेत असर पर्ने बताएका छन् ।
नेपाल विज्ञापन संघ, नेपाल मिडिया सोसाइटी, मिडिया अलाइन्स नेपाल, नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघ र अखिल नेपाल फुटवल संघले संयुक्त विज्ञप्ति जारी गर्दै भनेको छ, ‘मदिराजन्य वस्तुको विज्ञापन निश्चित परिधिभित्र रही विश्वका अधिकांश देशहरुमा खुला नै छ । मदिरालाई खाद्य वस्तुकै रुपमा लिने गरिन्छ र हाम्रो देशमा पनि यसलाई खाद्य ऐनले नै नियमन गर्ने गरेको छ । तर यसको विज्ञापन प्रसारण र प्रकाशनजस्ता कुरालाई कुनै एक देशले मात्र रोक्न खोज्नु असम्भव जस्तै भएको विदितै छ ।’
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनी अध्यक्षका उम्मेदवार राजेन्द्र लिङदेनको पक्षमा उभिएका छन् ।

एक वक्तव्य जारी गर्दै उनले आफू लिङदेनको पक्षमा उभिएको स्पष्ट पारेका हुन् । अर्का अध्यक्ष पशुपति शमशेर राणाले भने आफूले सहमतिको लागि पहल गर्ने बताएका छन् ।
००००
पछिल्लो २४ घण्टामा देशभर २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधिमा २६६ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा ६४६९ जनामा नमुना परीक्षण भएको थियो ।
यस्तै सोही अवधिमा २ जनाको मृत्यु भएको छ भने हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ ।
००००
गैर आवासीय नेपाली संघको निर्वाचन समितिको कार्यालयले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ ।
अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्षसहित ५३ जनाको निर्वाचन प्रयोजनका लागि निर्वाचन कार्यक्रम तय गरिएको छ । यस अन्तरगत डिसेम्बर ६ मा मतदाता नामावली प्रकाशन, डिसेम्बर १८ मा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र डिसेम्बर २६ र २७ मा मतदान गर्ने कार्यतालिका तय गरिएको छ । उम्मेदवारहरू संघको विधान बमोजिम योग्यता पुगेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्