
नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । कांग्रेस लुम्बिनी प्रदेश अधिवेशन बिहीवारदेखि रूपन्देहीको भैरहवामा शुरू हुँदैछ ।
पौडेल पक्षले रोल्पाका अम्मर पुनलाई प्रदेश सभापतिको उम्मेदवारका रूपमा अगाडि सारेको छ । उनी रोल्पा कांग्रेसको निवर्तमान सभापति तथा पूर्व राज्यमन्त्री हुन् ।
उपसभापति पदमा गुल्मीका भुवनप्रसाद श्रेष्ठ र रूपन्देहीका अष्टभूजा पाठकलाई उम्मेदवार बनाइएको छ । श्रेष्ठ गुल्मीका पूर्व कांग्रेस सभापति तथा पाठक प्रदेश सांसद हुन् ।
प्रदेश महामन्त्रीमा पश्चिम नवलपरासीका विक्रम खनाल र कपिलवस्तुका सुरेन्द्रराज आचार्यलाई अगाडि सारिएको छ ।
सहमहामन्त्रीमा दाङका खगराज पाण्डे, अर्घाखाँचीका विष्णु खनाल र प्यूठानकी निमा गिरीलाई उम्मेदवार बनाउने निर्णय गरिएको छ ।
संस्थापन पक्षले सभापतिमा रूपन्देहीका भरतकुमार शाहलाई उठाउने निचोडमा पुगे पनि अन्य उम्मेदवारहरूको टुंगो लगाउन सकेको छैन । गृहमन्त्री बालकृष्ण खाँणले शाहलाई अगाडि सारेका हुन् ।
लुम्बिनीमा संस्थापनइतर समूह बलियो देखिन्छ । संस्थापनइतर समूहले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लामा सभापति पदमा जीत हासिल गरेको छ ।