भीमदत्तनगर, १६ पुस - सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीले महिलासम्बन्धी मुद्दाहरूमा छिटो न्याय दिलाउन मातहतका न्यायधीशहरूलाई निर्देशन दिनुभएको छ ।
आज कञ्चनपुरको भीमदत्तनगरमा आयोेजित ‘न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबिचको समन्वय’ विषयक छलफल कार्यक्रममा सहभागी सुदूरपश्चिमका उच्च अदालत र जिल्लामा कार्यरत न्यायाधीशका बिचमा बोल्दै उहाँले महिलासम्बन्धी मुद्दामा संवेदनशील भएर छिटो टुङग्याइदिन निर्देशन दिनुभएको हो ।
न्यायमा महिलाको पहुँच बढाउनुका साथै महिलाहरूलाई न्यायको अनुभूति दिनका लागि चाँडो मुद्दाको टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “सबै निकायहरूमा आ–आफ्नो कानुन पालना गरी महिलाहरूका विषयमा काम गरे समस्या नै आउँदैन, समस्या आफँै समाधान भइहाल्छ ।”