
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २८ गतेदेखि शुरू हुने संसदको हिउँदे अधिवेशन चल्न नदिने संकेत गरेका छन् ।
पार्टीले निष्कासन गरेका सांसद सहभागी गराएर संसद् बैठक चल्न नसक्ने उनले बताए ।
पार्टी केन्द्रीय कार्यालय थापाथलीमा शुक्रवार पदबहाली गर्दै ओलीले एमालेले साउन २५ गते नै कारवाही गरेका सांसदलाई सहभागी गराइए संसद् बैठक चल्न नसक्ने बताएका हुन् । माधव नेपाल लगायत १४ सांसदलाई निष्काशन गर्ने निर्णय सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले लामो समय संसद अवरुद्ध गरेको थियो ।
‘संसद किन बोलाइएको थाहा छैन, तर निष्कासित व्यक्तिलाई संसदभित्र राखेर संसद कसरी चल्न सक्छ ? नियमले गैरसांसदलाई बस्न दिँदैन । २८ गतेको संसद बैठकमा उनीहरू आउँछन् भने बैठक चल्न सक्दैन,’ ओलीले भने ।
एमालेले भदौ २४ गते शुरू गरेर कात्तिक १२ गते सकिएको संसदको अधिवेशनभर अवरोध गरेको थियो । ओलीले सभामुख अग्नि सापकोटाले एमालेका विरुद्ध सत्ता पक्षसँग लागेर अपवित्र गठबन्धन गरेर एमाले फुटाउन लागेको आरोप लगाए ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले मंसिर २८ गतेको लागि संघीय संसदको दुवै सदनको बैठक आह्वान गरेकी छन् ।