
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेश १ समिति सभापतिका लागि भएको मतदानको पुनः मतगणना गर्नुपर्ने माग गरिएको छ ।
सभापतिका उम्मेदवार गुरुराज घिमिरेले मतपरिणाम चित्त नबुझेको भन्दै पुनः मतगणनाको माग गर्दै निवेदन दर्ता गरेका हुन् ।
निर्वाचन समितिका निर्वाचन अधिकृत भरत थापाले मत परिणाममा चित्त नबुझाएकोले पुनः मत गणनाको माग गर्दै अपिल गरिएको बताए ।
शनिवार भएको मतदानको मतगणनापछि सार्वजनिक भएको मत परिणामबाट गुरुराज घिमिरेले ८४२ र उद्धव थापाले ८४४ मत पाएका थिए ।
थापा २ मतले विजयी भएको घोषणा निर्वाचन समितिले बिहान साढे ३ बजे गरेको थियो । निर्वाचन समितिले घोषणा गरेको परिणाम चित नबुझेपछि घिमिरेका समर्थकले परिणाम घोषणा हुँदै गर्दा नाराबाजी गरेका थिए ।
त्यसलगत्तै घिमिरेले पुनः मतगणनाको माग गर्दै समितिमा निवेदन दिएको निर्वाचन अधिकृत थापाले जानकारी दिए । उनले छलफल गरेर मतगणना गर्ने/नगर्ने भन्ने निष्कर्षमा पुगिने बताए ।