०४ असार २०८३, बिहीबार

भारतबाट फर्कनेहरू ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने

मंसिर २०, २०७८
भारतबाट फर्कनेहरू ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने
झुलाघाट नाका ।

भारतबाट फर्किएका व्यक्तिलाई अनिवार्य रुपमा क्वारेन्टिनमा राखिने भएको छ । 

भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को संक्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो । 

कोरोनाको नयाँ भेरियन्ट नफैलियोस् भन्नका लागि भारतबाट फर्केका नागरिकलाई अनिवार्य सात दिन क्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए  ।

भारतबाट फर्केका नागरिकलाई होम क्वारेन्टिनमै बस्ने गरी व्यवस्था मिलाउन र त्यसको अनुगमन गर्न स्थानीय तहलाई पत्राचारसमेत गरिएको छ । 

‘भारतबाट फर्किनेको  सीमानाका झुलाघाटमै एन्टिजेन परीक्षण गर्ने र उनीहरूलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्न भनेका छौं,’ उनले भने । 

झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरेर कोरोना परीक्षण कार्य जारी रहेको छ । यसका साथै सीमामा आवातजावत गर्दा अनिवार्य रुपमा स्वास्थ्यका मापदण्ड पालना गर्न पनि आग्रह गरिएको छ ।  

यसैबीच कोरोनाको नयाँ भेरियन्ट देखिएपछि सीमा क्षेत्रमा भारतीय प्रशासनले पनि कडाइ गरेको छ । झुलाघाट नाकाबाट भारत प्रवेश गर्नेहरूले अनिवार्य रुपमा कोरोनाका दुवै डोज लगाएको कार्ड लैजानुपर्ने भएको छ । कोरोनाविरुद्धको खोपका दुवै डोज लगाएपछि १५ दिनपछि भारत पस्न दिइने भारतीय प्रशासनले जनाएको छ । 

पिथौरागढ जिल्ला अधिकारीको कार्यालयले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पत्र लेखेर नेपालबाट भारत पस्नेलाई अनिवार्य कोरोनाविरुद्धको खोप लगाएको कार्ड हुनुपर्ने बताएको छ । दुवै डोज खोज लगाएको कार्ड नभएकालाई सीमाबाट जान नदिने भारतले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्