०५ असार २०८३, शुक्रबार
कांग्रेसमा देउवाको प्रतिस्पर्धी खोजी

कांग्रेस संस्थापनइतरमा ‘लिगेसी’को लडाईंः सभापतिको उम्मेदवार शेखर कि शशांक ?

कार्यकर्ताको रोजाइमा शेखर, शशांकको भने न पर्याप्त तयारी, न अडान
मंसिर २०, २०७८
कांग्रेस संस्थापनइतरमा ‘लिगेसी’को लडाईंः सभापतिको उम्मेदवार शेखर कि शशांक ?

कांग्रेस १४ औं महाधिवेशनपछि पार्टीको बागडोर सम्हाल्न चाहने नेताले मंसिर २५ गते उम्मेदवारी मनोनयन दर्ता गर्नुपर्छ । 

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि मंसिर २७ गते मतदान हुने कार्यतालिका छ । २४ गते कांग्रेसको १४ औं महाधिवेशन उद्घाटन गर्ने कांग्रेसको तयारी छ । 

उम्मेदवारी मनोनयनको दिन आउन अब चार दिन मात्रै बाँकी छ । कांग्रेसमा संस्थापन समूहको सभापतिको उम्मेदवार लगभग निश्चित जस्तै छ । 

सभापति शेरबहादुर देउवा फेरि पार्टी नेतृत्वमा दोहोरिने पक्षमा छन् । तर, उनले अहिलेसम्म पदाधिकारीको सूचीसहित प्यानल भने बनाइसकेका छैनन् ।

संस्थापन खेमाबाट विद्रोह गरेर सभापतिको आकांक्षी बनेका विमलेन्द्र निधि तीन महिनाअघिदेखि आफ्नो उम्मेदवारीको प्रचारमा छन्, तर उनले पनि आफ्नो प्यानलमा रहने पदाधिकारी छनौट गरिसकेका छैनन् । उनी कांग्रेसको नेतृत्वमा आउन सक्ने समूहसँग बार्गेनिङमा नै छन् ।  

नेपाली कांग्रेसको नेतृत्वको कुर्सीबाट देउवालाई विस्थापन गर्ने बताउँदै आएको संस्थापन इतर समूहले त अहिलेसम्म सभापतिको उम्मेदवार नै को हो भन्ने यकिन गर्न सकेको छैन । 

पार्टी सभापतिमा पुनः देउवा नै दोहोरिँदा कांग्रेस चल्न नसक्ने तर्क गर्दै आएको संस्थापनइतर समूहले महाधिवेशनमा साझा उम्मेदवार दिने बताउँदै आएको छ ।

नेताहरू बीचमा माथापच्ची चलिरहेको छ, तर निर्णय गर्न भने सकेको छैन ।

संस्थापनइतर समूहमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्यद्वय प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी छन् । उनीहरू सबै एकले अर्कालाई छाडिदिनुपर्ने तर्कमा छन् । त्यसो हुँदा अहिलेसम्म उम्मेदवार तय हुन सकेको छैन । 

तर, वरिष्ठ नेता रामचन्द्र पौडेलले अरू कुनै नेताको नाममा सहमति बन्दा पछि हट्ने संकेत गरेका छन् । संस्थापन इतर समूहका प्रतिनिधि र युवा नेताहरूले शेखर कोइरालाई सभापतिको उम्मेदवार बनाउनुपर्ने तर्क गर्दै आएका छन् । तर, उनको नाममा संस्थापनइतर समूहमा अझै सहमति जुटिसकेको छैन ।

नेताहरूको बीचमा कुरा नमिलेका कारण प्रकाशमान सिंहले आफूलाई सभापतिको उम्मेदवार भन्दै प्रचार थालेका छन् । तर, पौडेल र दुई कोइराला दाजुभाइ कसलाई उम्मेदवार बनाउने भन्नेमा अझै स्पष्ट भइसकेका छैनन् । 

शेखर र शशांकबीच कुरा मिलेको अवस्थामा वरिष्ठ नेता पौडेलले सभापतिको आकांक्षा छाड्ने उनीनिकट एक नेताले बताए । तर, शशांक र शेखरबीचमा नै कुरा मिल्न छाडेपछि पौडेलले आफू पुनः उम्मेदवार बन्ने आकांक्षा व्यक्त गर्न थालेका छन् ।

महाधिवेशनको तल्लो तहबाट निर्वाचित भएर आएका प्रतिनिधिको रूझान कांग्रेसमा नयाँ नेतृत्व ल्याउनुपर्छ भन्नेमा भए पनि नेताहरूले सभापतिको उम्मेदवार टुंगो लगाउन नसक्दा तल्लो तहको अधिवेशनमा संस्थापन इतरको पक्षमा बलियो माहोल बन्न नसकेको कांग्रेसकै नेताहरू बताउँछन् ।

गण्डकी प्रदेशको सभापति छान्ने निर्वाचनमा सहभागी भएपछि कांग्रेसका वरिष्ठ नेता पौडेलले काठमाडौं फर्केर सभापतिको उम्मेदवारको टुंगो लगाउने बताएका थिए । 

गण्डकी प्रदेशमा कांग्रेसको संस्थापन इतरसमूहबाट साझा उम्मेदवार जुटाउन पौडेलले भूमिका निर्वाह गरेका थिए । उनले अगाडि सारेका शुक्रराज शर्मा गण्डकी प्रदेशको कांग्रेस सभापतिमा विजयी भएका छन् । गण्डकी प्रदेशमा अपनाएको नीति नै केन्द्रीय सभापतिको उम्मेदवार तय गर्दा पनि लागू हुने पौडेलले बताएका थिए । 

बिथोलिएको सहमति

मंसिरको पहिलो सातामा शेखर र शशांक कोइरालाले सभापतिको उम्मेदवारीको विषयमा सहमति गरेका पनि थिए । शेखरलाई सभापतिमा उम्मेदवार बनाउन शशांक सहमत भएका थिए । मंसिर १ गते पत्रकार सम्मेलन गरेर सभापतिको उम्मेदवारी घोषणा गर्न सहमत भएका शशांक हेलिकप्टर लिएर संखुवासभातिर लागेपछि उम्मेदवारी घोषणा गर्ने कार्यक्रम बिथोलियो । 

कात्तिक २९ मा शशांकले सर्लाहीको हरिवनमा कार्यकर्तालाई सम्बोधन गर्दै सभापतिमा शेखर कोइरालाई सघाउने संकेत गरेका थिए । त्यसपछि शेखर, शशांक र सुजाता कोइरालाबीच डिनर मिटिङ गरेर शेखरलाई सभापतिको उम्मेदवारका रूपमा अगाडि सार्ने सहमति समेत भएको थियो ।

सहमतिलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेकाबेला प्रधानमन्त्री शेरबहादुर देउवा एकाएक हावी हुँदा शशांक बटारिन पुगे । 

त्यसयता, शशांक र शेखरको बोलचाल समेत नभएको उनीहरू निकट नेताहरू बताउँछन् । शशांकका स्वकीय सचिवले उनलाई घुमाइदिए । मंसिर १ मा शशांक र शेरबहादुर देउवाको बीचमा छलफल भयो र पत्रकार सम्मेलन छल्नका लागि उनी संखुवासभा हानिए । 

शेखरतिर प्रतिनिधिको रूझान

कांग्रेसमा संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार बनाउँदा शेखर कोइरालाकै सम्भावना बढी रहेको संस्थापन इतर खेमाका नेताहरूको विश्लेषण छ । 

‘कार्यकर्ताले पार्टीमा नयाँ नेतृत्व खोजेको छ । कार्यकर्ताको भावना आत्मसाथ गर्न सक्ने व्यक्तिले मात्रै महाधिवेशन जित्ने सम्भावना छ’, कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले भने, ‘महाधिवेशनबाट नयाँ जेनेरेसन नै नेतृत्वमा आउँछ । सबै प्रतिनिधिहरूको चाहना नयाँ नेतृत्वको पक्षमा रहेको बुझेको छु ।’

तल्लो तहको अधिवेशनमा करीब ६० प्रतिशत युवा नेतृत्व आएको र उनीहरूले महाधिवेशनमा विवेक प्रयोग गर्ने भण्डारी बताउँछन् । आफूहरू पार्टीलाई नेताबाट मुक्ति दिलाउने अभियानमा रहेको र समयको पदचाप बुझ्ने उम्मेदवार नभए युवाहरूले हस्तक्षेप गर्ने अवस्था आउने उनले बताए । 

शेखरले लामो समयदेखि कांग्रेस सभापतिमा उम्मेदवार बन्ने योजनासहित तयारी पनि गरिरहेका छन् । १३ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बनेदेखि नै शेखर देश दौडाहमा थिए । देशभरका कांग्रेस कार्यकर्तालाई भेटेर आफ्नो प्रभाव छाड्ने प्रयासमा शेखर लागेका थिए । १४ औं महाधिवेशन शुरू भएपछि पनि उनी सचिवालय व्यवस्थित गरेर कार्यकर्तासँगको सम्पर्कमा छन् । जिल्ला र प्रदेश तहको अधिवेशनमा सकेसम्म उपस्थित हुने र प्रतिनिधिहरूसँग सम्बन्ध बढाउने काममा शेखर खटिइरहेका छन् । त्यति मात्रै होइन, प्रदेश अधिवेशन चलिरहेको सातै प्रदेशमा शेखरले स्वागत ब्यानर राखेर आफ्नो प्रचार बढाएका थिए । 

प्रदेश–१ को अधिवेशन उद्घाटनका लागि गत शुक्रबार विराटनगर पुगेका शेखरले युग सुहाउँदो पार्टी निर्माण गर्ने अवसर आएको भन्दै प्रतिनिधिलाई कांग्रेस निर्माणमा आफ्नो अन्तरआत्माको कुरा सुन्न आग्रह गरेका थिए । 

उनले भनेका थिए, ‘पार्टी गतिशील र ऊर्जावान् हुन नेतृत्वमा नयाँ पुस्ता, नयाँ विचार, नयाँ कार्यशैली र नयाँ कार्यक्रमको आवश्यकता छ ।’

शशांकको ताल– न तयारी, न अडान !

तर, १३ औं महाधिवेशनबाट कांग्रेसको महामन्त्री बनेका शशांक कोइरालाले भने अहिलेसम्म पनि कांग्रेस सभापति बन्ने बलियो तयारी थालेको देखिँदैन । 

शशांक संघीय प्रतिनिधि सभाका सदस्य पनि हुन् । प्रतिनिधि सभाको बैठकमा उनले अहिलेसम्म एकपटक पनि पार्टीको तर्फबाट आफ्नो धारणा राखेका छैनन् । कांग्रेसका नेताहरू शशांकलाई ‘नबोल्ने महामन्त्री’को बिम्ब दिन्छन् । 

कांग्रेसमा महामन्त्री संगठनको परिचालक पनि हो । सात लाखभन्दा बढी सदस्य रहेको कांग्रेसमा महामन्त्री नै सबैभन्दा बढी कार्यकर्तासँग घुलमिल हुन सक्छ, तर शशांकले त्यो अवसर पनि प्रयोग गर्न सकेनन् ।

कांग्रेसको क्रियाशील सदस्यता विवादकै कारण लामो समय महाधिवेशन नै प्रभावित भयो । कांग्रेसका एक केन्द्रीय सदस्य भन्छन्, ‘पार्टी सत्ता सञ्चालनको जिम्मेवारी सभापतिपछि महामन्त्रीको नै हो । संगठनभित्रको समस्या पहिचान गर्ने र समाधानमा लाग्ने काम पनि महामन्त्रीकै हो । महामन्त्रीले सक्रियता देखाउनुभएको भए क्रियाशील सदस्यताको त्यत्रो लामो विवाद नै हुने थिएन, यो उहाँको असक्षमता हो ।’

महामन्त्रीको भूमिकामा नै असफल भइसकेकाले शशांकलाई लिएर कार्यकर्तामा खासै उत्साह पाइन्न । अघिल्लोपटक बुवा (बीपी कोइराला)को लिगेसीका कारण चुनाव चितेका शशांकले आफ्नो भूमिकालाई न्याय गर्न नसकेको नेता/कार्यकर्ताको बुझाइ पाइन्छ ।

कसले धान्ला लिगेसी ?

शेखर बीपी कोइरालाका दाजु केशवप्रसाद र कांग्रेसकी शक्तिशाली नेतृ नोना कोइरालाका छोरा हुन् । उनले कांग्रेसमा कोइराला परिवारको लिगेसी धान्न सक्ने नेताको रूपमा आफूलाई उभ्याउने गरेका छन् । 

शेखरले एकपटक मात्रै सभापति बन्ने र अर्को महाधिवेशनमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने बताउँदै आएका छन् ।

कांग्रेसमा परिवादको विरोधमा आवाज उठाउँदै आएका एक केन्द्रीय सदस्य भन्छन्, ‘बीपीको लिगेसीकै कारण कांग्रेस कांग्रेसका कार्यकर्ताले सभापति बन्न सघाउँछन भन्ने भ्रम शशांकलाई परेको जस्तो देखिन्छ । शेखर पनि पुरानो लिगेसी जोड्न खोज्छन् । तर, अहिले चुनिएर आएका प्रतिनिधिहरू कांग्रेसमा नयाँ नेतृत्व चाहन्छन् । अब कांग्रेसमा लिगेसी मात्रै धान्दैन ।’

आगामी महाधिवेशनमा कोइराला परिवारले देउवासँग प्रतिस्पर्धा गर्ने हो भने एकजुट भएर आउनुपर्ने ती नेताको सुझाव छ । ‘लिगेसीकै एजेण्डा लिएर आउने हो भने शशांकभन्दा शेखर नै बढी म्याचुअर्ड देखिन्छन् । उनले बीपी, शैलजा र नोना कोइराला सबैको लिगेसी धान्न सक्छन्’, ती केन्द्रीय सदस्यले भने । 

तर, अरू विषयको तयारी नगरी लिगेसीको मात्रै कुरा गर्दा प्रतिनिधिले त्यसलाई अस्वीकार गर्ने अवस्था पनि रहनसक्ने कांग्रेसका नेताहरूको बुझाइ छ । निर्वाचनबाट छानिएका महाधिवेशन प्रतिनिधिमा युवा पुस्ता हावी भएको र त्यो युवा पुस्ताले पुरानो विरासतभन्दा पनि भविष्यको बारेमा बढी सोच्न सक्ने भएकाले त्यसै अनुसारको नेतृत्व चयनमा ध्यान दिने कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीको विश्वास छ ।

salt training

कमेन्ट गर्नुहोस्