
नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले केन्द्रीय नेताले प्रदेशमा मतदान गर्न पाउने कि नपाउने भन्ने विषयमा 'संशय' रहेकाले कानूनी परामर्श गरेरै आफूले प्रदेश १ को अधिवेशनमा मतदान नगरेको प्रस्ट पारेका छन् ।
संस्थापनइतर पक्षबाट प्रदेश १ मा सभापतिको उम्मेदवार बनेका युवा नेता गुरुराज घिमिरे २ मतले पराजित भएपछि शेखरसहितका ४ केन्द्रीय नेताले मतदान नगरेको विषय बाहिर आएको थियो ।
'कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनमा प्रदेशसम्म केन्द्रीय नेताहरूले मतदान गर्न पाउने/नपाउने विषयमा शुरूदेखि नै 'संशय' थियो। कानूनी परामर्शबाट मतदान गर्दा भविष्यमा जटिलता आउन सक्ने बुझियो । तसर्थ मतदान नगर्नु उपयुक्त ठानें । यसक्रममा मबाट भएको कमजोरीप्रति सचेत रहँदै गल्ती भए क्षमाप्रार्थी छु,' शेखरले सोमवार ट्वीट गरेका छन् ।

शेखरसहित संस्थापनइतर पक्षका नेताहरू सुजाता कोइराला, महेश आचार्य र बलबहादुर केसीले मतदान गरेका थिएनन् ।
'अघिल्लो दिन बुझ्दा निर्वाचन समितिले प्रदेशमा मतदान गर्दा केन्द्रमा उम्मेदवार बन्न पाइँदैन भन्ने कुरा गरेको थियो, सोही कारण कानूनी परामर्श गरेर नै उहाँले मतदान नगर्नुभएको हो,' शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले लोकान्तरसँग भने ।
डा. कोइराला आसन्न महाधिवेशनमा संस्थापनइतरबाट सभापतिका आकांक्षी हुन् । तयारी र कार्यकर्ताको रुझानका हिसाबले शेखर संस्थापनइतरबाट सभापतिको दौडमा सबैभन्दा अगाडि छन् ।