
राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ ।
जनमोर्चाको केन्द्रीय कार्यालय बैठकले मंसिर २६ गतेभित्र अनिवार्यरुपमा हरेक जिल्लामा एमसीसी सम्झौताको विरोधमा संघर्षका लागि कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया जे सम्भव छ त्यो गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।
‘एमसीसी सम्झौतालाई संसदबाट अनुमोदन गराउनुपर्ने समय सकिन लागेको छ । एमसीसीसँग सम्बद्ध अमेरिकी उच्च अधिकारीहरू पटकपटक नेपाल आई एमसीसी सम्झौता संसदबाट अनुमोदन गराउन दबाब दिइरहेका छन्,’ उनले भने, ‘यही मंसिर २८ गते संसदको हिउँदे अधिवेशन डाकिएको छ । यही स्थितिमा सरकारले एमसीसी सम्झौतालाई अनुमोदनका लागि प्रस्तुत गर्ने सम्भावना छ ।’
एमसीसी सम्झौता नेपालको बृहत्तर हित र दीर्घकालीन हितका दृष्टिले सही नभएको भन्दै खारेज गर्न आफूले जोड दिएको जनमोर्चाले जनाएको छ । ‘हामीले उक्त राष्ट्रघाती सम्झौता संसदबाट अनुमोदन गर्ने होइन, त्यसलाई खारेज गर्ने संघर्षमा ऐक्यबद्धता प्रकट गर्न सम्पूर्ण राष्ट्रवादी जनसमुदायलाई हार्दिक अपिल गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
संघर्षलाई बढी व्यापक र उच्च बनाउन विभिन्न मोर्चा र २२ दलीय तथा संघसंस्थाको गठबन्धनद्वारा पनि संघर्षका कार्यक्रम घोषणा गर्न प्रयत्न रहने जनमोर्चाले जनाएको छ ।
‘तत्कालीन नेकपाले उक्त सम्झौताको बारेमा अध्ययन गर्न गठित कार्यदलले समेत यथास्थितिमा उक्त सम्झौता स्वीकृत गर्न नहुने कुरा प्रतिवेदनमा उल्लेख गरेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिक समाज, अधिकांश राजनीतिक दलहरू, राष्ट्रवादी नेपाली जनताले उक्त सम्झौताका लागि संघर्ष गरेका छन् र गरिरहने पनि छन् । पाँच दलीय गठबन्धन पनि यथास्थिति मै उक्त सम्झौता स्वीकृत गर्ने पक्षमा छैन । गठबन्धनको सरकारले आफ्नो नीति र कार्यक्रममा उक्त सम्झौतालाई अनुमोदन गर्ने कार्यसूची राखेको छैन ।’