
आज २०७८ साल मंसिर महिनाको २१ गते । बितेको २४ घण्टामा देशमा भएका मुख्यमुख्य घटनाक्रमलाई ‘लोकान्तर राउण्ड अप’मा समेट्ने प्रयास गरिएको छ ।
००००
कांग्रेसको १४ औं महाधिवेशन आगामी शुक्रबारबाट काठमाडौंमा शुरू हुँदै छ । महाधिवेशनबाट सभापति, पदाधिकारी र सदस्यसहित गरी १ सय ६७ सदस्यीय हुने कार्य समिति चयनका लागि २९ वटा मतपत्रको तयारी गरिएको छ । ती २९ वटै मतपत्र २९ स्थानबाट नै दिइने गरी निर्वाचन समितिले तयारी गरेको छ ।
कांग्रेस प्रवक्ता तथा प्रचारप्रसार विभाग प्रमुख विश्वप्रकाश शर्माले महाधिवेशनको अन्तिम तयारी भइरहेको जानकारी दिए ।
काँग्रेस सभापतिका लागि शेरबहादुर देउवाले उम्मेदवारी घोषणा गरिसकेका छन् भने विमलेन्द्र निधि पनि मैदानमा छन् । यस्तै संस्थापन इतर समूहबाट साझा उम्मेदवार तय गर्ने पहल जारी रहेपनि सहमति जुटिसकेको अवस्था छैन । सोमबार पनि संस्थापनइतर समूहका चार प्रभावशाली नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र डा शेखर कोइराला १४ औं महाधिवेशनमा साझा उम्मेदवार चयन गर्नका लागि छलफलमा जुटेका थिए ।
रामचन्द्र पौडेल निवास बोहोराटारमा सोमबार साँझ भएको छलफलमा चारै नेताले सहमतिको कुरा गरेपनि ठोस सहमति नभएको बताइएको छ ।
बैठकमा महामन्त्री समेत रहेका डा शशांक कोइरालाले आफ्नो पक्षमा माहोल रहेको बताउँदै छाडिदिन आग्रह गरेका थिए । यद्यपि अरु नेताको नाममा सहमति बनेपनि आफूलाई छाड्न कुनै आपत्ति नभएको उनको भनाइ थियो ।
बैठकमा शशांकको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘सबभन्दा राम्रो मेरो छ, तर तपाईंहरु सहमति गर्नुहुन्छ भने म छाड्न तयार छु ।’ सो बैठकमा साझा उम्मेदवारबारे साझा धारणा बन्न नसकेपनि पुनः बैठक बसेर सहमति जुटाउन पहल गरिने एक नेताले बताए । ४ नेताको नेतृत्वमा हानथाप हुँदा साझा उम्मेदवार तय गर्न ढिलाइ भएको हो ।
००००
नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिलाई अदालतको विषय बनाउन नहुने बताएका छन् । अनेरास्ववियुले सोमबार आयोजना गरेको ‘सङ्गठन विस्तार तथा सदस्यता वितरण महाअभियान’ कार्यक्रममा उनले लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले निर्वाचनमा जानुको विकल्प नभएको समेत उल्लेख गरे ।
००००
बैतडीमा सोमबार साँझ जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
पाटन बजारबाट कैलपाल जाँदै गरेको से १ ज ८८८ नम्बरको जीप पाटन नगरपालिका–१ सकार थलीमा दुर्घटना भएको हो । दुर्घटनामा परी मृत्यु हुनेमा पाटन नगरपालिका–१ सकारका १३ वर्षीय विनोद भट्टराई, ७२ वर्षीया रमा भट्टराई, ठेगाना नखुलेका २४ वर्षीय प्रेम चुनारा र २० वर्षीया मनिषा विक रहेका इलाका प्रहरी कार्यालय पाटनका इञ्चार्ज प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए ।
००००
स्थानीय तहका लागि आह्वान गरिएको परीक्षामा उत्तीर्ण भएपछि पदस्थापन गरिएको कार्यालयप्रति असन्तुष्ट र हाजिरी गर्न समस्या भएका छैठौं तह र सोभन्दा तलका १५ सय कर्मचारीको एकदुई दिनभित्रै सरुवा गरिने भएको छ ।
विभिन्न खाले समस्या देखाएर अन्य स्थानीय तहमा सरुवा मागेका करीब १५ सय कर्मचारीलाई अन्तिम पटकका लागि सरुवा गर्न लागिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
००००
सरकारले प्रहरी नियमावली संशोधन गर्दै बढुवा हुँदा पदकबापत २ अंक पाउने व्यवस्था हटाएको छ । अब उक्त २ अंक ज्येष्ठतामा थपिएको छ ।
प्रहरी प्रधान कार्यालयले सिफारिश गरेभन्दा बाहिरबाट मिलाएर पदक पाउने अनि बढुवा प्रभावित हुने भएपछि यसको चर्को आलोचना भएको थियो ।
त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहमन्त्रालयको विधान समितिले निर्णय गरेर संशोधन गरी पारितका लागि मन्त्रिपरिषद्मा पठाएको थियो ।
००००
पछिल्लो २४ घण्टामा २६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६१७ नमूना परीक्षणमध्ये २३८ पीसीआर र २७ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
००००
राष्ट्रिय जनमोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा देशव्यापी आन्दोलन गर्ने भएको छ ।
जनमोर्चाको केन्द्रीय कार्यालय बैठकले मंसिर २६ गतेभित्र अनिवार्यरुपमा हरेक जिल्लामा एमसीसी सम्झौताको विरोधमा संघर्षका लागि कोणसभा, जनप्रदर्शन, गोष्ठी वा अन्तरक्रिया जे सम्भव छ त्यो गर्न मातहतका समितिहरूलाई निर्देशन दिएको छ ।
००००
जिल्ला प्रहरी कार्यालय कैलालीले झण्डै एक महिनापछि भूपेन्द्र बडुवाल हत्या प्रकरणको अनुसन्धान निष्कर्ष सार्वजनिक गरेको छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रहरीले घटना सार्वजनिक गरेको हो ।
लम्की चुहा नगरपालिका १ का २३ वर्षीय भूपेन्द्र बडुवालको हत्या २ अपराधिक समूहको आपसी मनमुटावका कारण भएको प्रहरीको निष्कर्ष छ ।
००००
नेपाली कांग्रेसका प्रभावशाली नेता डा शेखर कोइरालाले केन्द्रीय नेताले प्रदेशमा मतदान गर्न पाउने कि नपाउने भन्ने विषयमा ुसंशयु रहेकाले कानूनी परामर्श गरेरै आफूले प्रदेश १ को अधिवेशनमा मतदान नगरेको प्रस्ट पारेका छन् ।
संस्थापनइतर पक्षबाट प्रदेश १ मा सभापतिको उम्मेदवार बनेका युवा नेता गुरुराज घिमिरे २ मतले पराजित भएपछि शेखरसहितका ४ केन्द्रीय नेताले मतदान नगरेको विषय बाहिर आएको थियो ।
००००
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले ‘अर्ली इलेक्सन’ चाहनेहरूको आउँदो चुनावमा पत्तासाफ हुने बताएका छन् ।
सोमवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै तत्काल चुनाव चाहनेहरूको पत्तासाफ हुने बताएका हुन् ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले सोमबार चावहिलस्थित कार्यालयमा गएर पदभार ग्रहण गरेका छन् ।
००००
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमवार पत्रकार सम्मेलन गरी उक्त जानकारी दिएको हो ।
००००
नेपाली कांग्रेस प्रदेश २ को नयाँ नेतृत्व चयनका लागि हुने भनिएको अधिवेशन तत्कालका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश २ संयोजक रमेश रिजालले सोमवार जनकपुरमा पत्रकार सम्मेलन गरी प्रदेश अधिवेशनको सम्पूर्ण कार्यक्रम स्थगित गरिएको जानकारी दिए ।