१५ असार २०८३, सोमबार
कांग्रेस महाधिवेशन

कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवारको खोजी– दिउँसो १ बजे चाक्सीबारीमा छलफल

मंसिर २१, २०७८
कांग्रेस संस्थापनइतरमा साझा उम्मेदवारको खोजी– दिउँसो १ बजे चाक्सीबारीमा छलफल

शुक्रवारदेखि शुरू हुने १४ औं महाधिवेशनमा साझा उम्मेदवार बनाउन नेपाली कांग्रेसको संस्थापनइतरको बैठक मंगलवार पनि बस्दैछ ।

सभापतिमा उठ्ने तयारी गरेका चार नेतासहित संस्थापन इतरका प्रभावशाली नेताहरू छलफलमा जुट्न लागेका हुन् । 

ठमेल चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा दिउँसो १ बजेका लागि संस्थापन इतरका नेताहरूको बैठक राखिएको हो ।

सोमवार साँझ कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको निवास बोहोराटारमा छलफल भएको थियो । 

पौडेलको निवासमा महामन्त्री शशांक कोइराला, शेखर कोइराला र प्रकाशमान सिंहबीच छलफल भएको थियो । 

हिजो सहमति जुट्न नसकेपछि आज पुनः छलफलमा जुट्न लागेको नेता सिंहले बताए । ‘साझा उम्मेदवार बनाउन साथीहरूसँग छलफल चलिरहेको छ, हिजो कुनै सहमति नभएकाले आज फेरि छलफल हुन्छ, हाम्रो कोशिश चलिरहेको छ,’ उनले भने । 

सोमवारको बैठकमा शशांकले अहिले पनि आफू बलियो उम्मेदवार रहेको तर सहमतिका लागि बाधक नबन्ने बताएका थिए । 

शशांकले यसअघि सर्लाहीमा आयोजित एक कार्यक्रममा शेखरले अन्य नेतालाई कन्भिन्स गरेमा आफूले छाड्ने संकेत गरेका थिए । 

‘रामचन्द्र पौडेल यसअघि नै उठिसक्नु भएको हो, प्रकाशमानलाई काठमाडौं बाहिरका कार्यकर्ताले चिन्दैनन्, शेखर'दाले मलाई कन्भिन्स गरिहाल्नुहुन्छ,’ सर्लाहीको हरिवनमा कात्तिक २९ गते आयोजित कार्यक्रममा शशांकले भनेका थिए ।

त्यसपछि कात्तिक ३० गते शेखरको निवासमा डिनर मिटिङ गरेर कोइराला परिवारको तर्फबाट शेखरलाई सभापतिको उम्मेदवार बनाउने भद्र सहमति भएको थियो ।

मंसिर १ गते कोइराला परिवारका तीन सदस्य बसेर सो सहमति सार्वजनिक गर्ने तयारी भएकोमा शशांक संखुवासभा हिँडेपछि सहमति भाँडिएको थियो । 

सभापतिको बलियो उम्मेदवार भनेर दाबी गरे पनि शशांकले सभापतिमा उठ्ने कुनै तयारी नगरेको संस्थापनइतरका नेताहरू बताउँछन् ।

शेखर र प्रकाशमानले सम्पर्क कार्यालय खोलेर कार्यकर्तासँग नियमित भेटघाट गरेपनि शशांकले भने सम्पर्क कार्यालय खोलेका छैनन् । 

कांग्रेसको महाधिवेशन शुक्रवार शुरू हुँदैछ । २५ गते शनिवार उम्मेदवारी मनोनयनको कार्यक्रम रहे पनि अहिलेसम्म संस्थापन र इतर समूह कसैले प्यानल बनाउन सकेका छैनन् । 

salt training

कमेन्ट गर्नुहोस्