१७ असार २०८३, बुधबार

पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्ने, जनस्वास्थ्यमा असर पर्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव

मंसिर २१, २०७८
पश्चिमी वायुको प्रभावले चिसो अझै बढ्ने, जनस्वास्थ्यमा असर पर्ने भएकाले तयारी थाल्न विज्ञको सुझाव
फाइल तस्वीर।

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्न सक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन् ।

पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने तथा त्यस वायुले पृथ्वीको सतह नजिकै बसिरहने भएकाले गर्दा चिसो बढ्न सक्ने भन्दै त्यसतर्फ विज्ञहरूले सचेत गराएका हुन् । 

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारुरुपमा हुन नसक्दा यसको सीधा असर जनस्वास्थ्यमा पर्ने भएकाले त्यसतर्फ तयारी थाल्न सरकारलाई विज्ञहरूले सुझाव दिएका छन् । 

जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनीतिक तयारी थाल्नुपर्ने बताए । उनले भारतमा हरेक वर्षमा ४ वटा चक्रवातहरू आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकाले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणबद्ध तयारी थाल्नुपर्ने बताए । 

मास्कले कोरोनाका साथसाथै वायु प्रदूषणबाट पनि बचाउने भन्दै उनले अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग गर्न पनि आग्रह गरे । 

वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन आग्रह गर्दै उनले अत्याधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउन सक्नेतर्फ सरोकारवालाहरूलाई सचेत गराए । 

डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसाधनहरू बन्द गर्ने लगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताए । 

‘वायुप्रदूषण बढेमा १ नम्बरमा के गर्ने, २ नम्बरमा के गर्ने भन्ने सोच्नुपर्छ । विद्यालयहरू बन्द गर्नुपर्ने हुन सक्छ, चलिरहेका उद्योगधन्दाहरू आलोपालोमा सञ्चालन गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘सडकमा चल्ने, एकदमै प्रदूषण गर्ने त्यसलाई पनि हटाउनु पर्ने हुन सक्छ । धेरै नै प्रदूषण भयो भने जस्तो भारतले हार्ड मेजर अपनाएको छ, त्यस्तोमा पनि जानुपर्ने हुन सक्छ ।’

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मूल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए । 

संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफैं गर्न सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रुपमा बलियो बनाउन लाग्ने उनको भनाइ छ । 

भट्टराईले हालसम्म प्राधिकरणमा आफैं पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौती रहेको बताए । 

‘आज पनि हामीले प्रारम्भिक सूचना लिने कुरा भनेको मौसम पूर्वानुमान महाशाखा नै हो । हाम्रो राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आफैं पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न सकेको छैन,’ उनले भने, ‘हामीले मात्रै संयन्त्र निर्माण गर्नुपर्छ भन्ने पक्षमा पनि हामी छैनौँ । हाम्रो र डीएचएमबीचको सहकार्यमा यी सूचनाहरू जारी हुन्छन् । उहाँहरूले प्रारम्भिक सूचना ल्याउनुहुन्छ र उहाँहरूसँग भेरिफाइ गरेर यसको गाम्भीर्यताको बारेमा थप बुझेपछि हामीले धेरै जनतालाई त्रसित बनाउने कुरा पनि हुँदैन । त्यसकारण उहाँहरूसँगको समन्वयमा कति सूचना जनतामा पठाउने भन्ने छलफल गरेपछि त्यहीअनुसारको सूचना प्रवाह गर्ने प्रणालीको विकास छ ।’

salt training

कमेन्ट गर्नुहोस्