
इन्डोनेसियाको जाकार्तामा गत शनिवार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ३४ पुगेको छ ।
ज्वालामुखी विस्फोटमा परेर अरू १७ जना हराइरहेका त्यहाँका सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।
गत शनिवार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरू भाग्ने क्रममा मृत्यु भएको बताइएको छ ।
प्रभावित क्षेत्रबाट करीब तीन हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ ।
राष्ट्रिय प्रकोप व्यवस्थापन विभागका प्रवक्ता अब्दुल मुहारीले अहिलेसम्म पनि १७ जना व्यक्ति हराइरहेको जानकारी दिए । जाकार्ता समयानुसार शनिवार दिउँसो ३:१० बजे ३ हजार ६७६ मिटर अग्लो माउन्ट सेमेरुमा ज्वालामुखी विस्फोट भएको थियो । -रासस/एएफपी