०४ असार २०८३, बिहीबार

कहाँ पुग्यो पूर्वपश्चिम रेलमार्ग निर्माणको काम ?

मंसिर २३, २०७८
कहाँ पुग्यो पूर्वपश्चिम रेलमार्ग निर्माणको काम ?

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पूर्वपश्चिम विद्युतीय रेलमार्ग निर्माणले अझै गति लिन सकेको छैन । ९ प्याकेजमा  निर्माणअघि बढाउने योजना बनाइएको थियो ।

त्यसै अनुरूप केही प्याकेजको विस्तृत् परियोजना प्रतिवेदन (डीपीआर) तयारी अघि बढाइएको छ भने केहीको अध्ययन सकिए पनि निर्माण अघि बढेको छैन ।

बर्सेनि कम बजेट छुट्ट्याइएकाले निर्माणले गति लिन नसकेको रेल विभागले जनाएको छ । रेलमार्ग निर्माणमा जग्गा प्राप्तिको विषय पनि टुंगो लाग्न बाँकी रहेको विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए ।

‘बर्सेनि सरकारले झण्डै ८/१० अर्ब रुपैयाँ बजेट छुट्याउने गरेको छ,’ उनले भने, ‘यो वर्ष अझै घटेर साढे ६ अर्ब बजेट छुट्याइएको छ ।’

आयोजना पूरै सम्पन्न गर्न ठूलो रकम आवश्यक भए पनि एउटा खण्डलाई पहिलो प्राथमिकता दिएर निर्माण अघि बढाउन सकिने विभागले जनाएको छ । निर्माणको काम अघि बढिरहेको बर्दिवास–निजगढ खण्डमा पहिले सम्पन्न गर्दा रेल यातायातको विस्तार गर्न सकिने महानिर्देशक भट्टराईले बताए । सो खण्डमा अन्तिम काम बाँकी रहेकामा त्यो सम्पन्न गर्दा रेल चलाउन पूर्वाधार बन्ने उनले बताए ।

बजेट उपलब्ध हुँदा कम्तीमा ५ वर्षमा निर्माण सकिने उनको भनाइ छ । उनले भने, ‘बजेट कम भएकाले काम गर्न गाह्रो हुन्छ ।’

बर्दिवास–निजगढ प्याकेजमा पहिले बजेट सुनिश्चित गरेर बाँकी काम अघि बढाउने गरी योजना बनाइएको छ । यो एउटा प्याकेजमा काम गर्न सकेमा सो रेलमार्ग जयनगरबाट बर्दिवाससम्म पुग्नसक्ने महानिर्देशक भट्टराईले बताए ।

भारत सरकारको लगानीमा निर्माण भएको जयनगरबाट जनकपुर हुँदै कुर्थासम्मको रेलमार्ग तयारी अवस्थामा छ । नेपाल रेल्वे कम्पनी लिमिटेडले जनशक्ति तयार भएपछि रेल सञ्चालन गर्न तयारी अघि बढाएको छ ।

कुर्थाबाट बिजलपुरासम्म १७ किमी रेलमार्ग निर्माण भइरहेको छ भने विजलपुराबाट बर्दिवाससम्म १७ किलोमिटरमा जग्गा प्राप्तिको काम भइरहेको छ । जग्गा छुट्टाएर काम गर्दा २ वर्षमा बर्दिवाससम्म निर्माण सकिने उनको भनाइ छ । पूर्वपश्चिम विद्युतीय रेलमार्गमा नै पर्ने बर्दिवास निजगढ खण्डमा विभागले कतिपय काम गरिसकेको छ ।

उनले भने, ‘कतिपय काम बाँकी भएकामा बजेट सुनिश्चित भएमा ५/७ वर्षमा बर्दिवाससम्मै रेल चल्नसक्छ ।’ 

विभागले अहिले निर्माणको काम बर्दिवास निजगढ खण्डमा मात्रै अघि बढाएको छ । झण्डै ६९ किमी लम्बाइको सो खण्डमा सुधार र पुल निर्माणको काम भइरहेको महानिर्देशक भट्टराइले बताए । ५० किलोमिटरमा लम्बाइमा सुधारको काम सकिएर अरु काम गर्नुपर्ने देखिन्छ । सो खण्डमा रेलको ट्याक राख्ने, स्टेसन  बनाउने, विद्युतीय काम र सिग्निलिङको काम गर्नुपर्ने महानिर्देशक भट्टराईले बताए ।

उनले भने, ‘रेल चलाउन गर्नुपर्ने खास काम बाँकी नै छ ।’ निर्माण भइरहेको प्याकेजमा पनि सम्पन्न हुन ५ वर्ष लाग्ने विभागले जनाएको छ । बजेट सुनिश्चित र बहुवर्षीय ठेक्काका लागि कारबाही अघि बढाइएको महानिर्देशक भट्टराईले बताए । यो खण्डमा काम गर्न यो वर्ष अर्थ मन्त्रालयले बजेट सुनिश्चित गरेमा आगामी वर्ष निर्माण कम्पनी र परामर्शदाता नियुक्ति प्रक्रिया अघि बढाइने छ ।

उनले भने, ‘आगामी वर्ष ठेक्का लगाउन सकेमा ३–४ वर्षमा निर्माण सकिने छ ।’ 

निजगढदेखि चितवन खण्डमा अझै अध्ययन हुन बाँकी छ । अरु खण्डमा विस्तृृत अध्ययन सकिएको छ । सो प्याकेजमा रेखांकन परिवर्तन गर्नुपर्ने हुँदा अरु प्याकेजभन्दा ढिला अध्ययन भइरहेको छ । राष्ट्रिय निकुञ्जभित्रबाटै रेलमार्ग निर्माण गर्दा त्यहाँका वन्यजन्तु र वनस्पतिलाई असर पुर्‍याउने भएकाले अहिले निजगढबाट हेटौंडा हुँदै भरतपुर जोडिने गरी रेलमार्ग अघि बढाउन लागिएको छ । सो स्थानमा डिपिआर भइरहेकामा विभागले पनि अनुगमन गरिरहेको छ । 

काँकडभिट्टा–इनरुवा खण्डमा विगतका वर्षमा जग्गा प्राप्तिमा समस्या थियो । अहिले सो खण्डमा कतिपय जग्गाको समस्या हल भइसकेको र बाँकीमा अन्तिम चरणमा पुगेको महानिर्देशक भट्टराईले बताए । बजेटको कमीले गर्दा दररेट निर्धारण गर्न नसकिएको उनको भनाइ छ ।

विभागले अहिले बजेट सुनिश्चितताका लागि कारबाही अघि बढाइएको छ । रेल विभागको दमक कार्यालयले अहिले त्यहाँका पालिकासँगको समन्वयमा जग्गा प्राप्तिका लागि काम गरिरहेको छ । जग्गा प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालयले उपसमिति बनाएर काम अघि बढाएको छ । महानिर्देशक भट्टराईका अनुसार दररेट निर्धारणको काम थोरै मात्रै बाँकी छ ।

उनले भने, ‘सूचना निकालेमा स्थानीयवासी मुआब्जाका लागि आउनुहुन्छ तर बजेट नभएकाले हामीले त्यो गर्न सकिएको छैन ।’ 

अहिलेसम्म सरकारको बजेटबाट नै रेलमार्गको अध्ययन र थोरै निर्माण अघि बढिरहेको छ । अहिलेसम्म रेलमार्गमा वैदेशिक लगानी सुनिश्चित नभएको महानिर्देशक भट्टराईले बताए । निर्माणको तयारीका लागि पहिले अध्ययन र जग्गा प्राप्तिमा लागिएको छ ।

उनले भने, ‘अध्ययन र तयारी सकिएपछि नै लगानीबारे सोच्नुपर्छ ।’ सो रेलमार्ग र भारतीय लगानीमा निर्माण भएको जयनगर–कुर्था–बर्दिवास रेलमार्ग बर्दिवासमा मिसिने विभागका सिनियर डिभिजनल इन्जिनीयर अमन चित्रकारले बताए । भारत सरकारले निर्माण गरेको रेलमार्ग ब्रोडगेज हो भने पूर्वपश्चिम रेलमार्ग कतिपय अध्ययन स्ट्याण्डर्ड गेजमा भइरहेको उनको भनाइ छ । 

पहिले पूर्वपश्चिम विद्युतीय रेलमार्ग ९४५ किलोमिटर लम्बाई हुने देखिएको थियो । पहिलेको रेखांकन परिवर्तन गरेर नयाँमा जाँदा भने लम्बाइ कूल लम्बाई परिर्वतन हुनसक्ने सिनियर डिभिजनल इञ्जिनीयर चित्रकारले बताए ।

पूरानो रेखांकनमा चितवन राष्ट्रिय निकुञ्जव र पर्सा राष्ट्रिय राष्ट्रिय निकुञ्ज भएर जाने गरी अध्ययन भएको थियो । त्यहाँबाट लैजान नमिलेपछि रेखांकन परिवर्तन हुन लागेको छ । अहिले निजगढ–हेटौंडा–भरतपुरको डीपीआर भइरहेकामा त्यो सकिएपछि नै कूल लम्बाई थाहा हुने उनले बताए ।

उनले भने, ‘केही बढ्ने देखिएपनि यति नै हुन्छ भन्न अहिले सकिँदैन ।’ 

नेपालमा रेल यातायातमा अहिलेसम्म उल्लेखनीय उपलब्धि हासिल भइसकेको छैन । पहिले रेल यातायात भौतिक पूर्वाधार मन्त्रालयमा एउटा आयोजनाका रूपमा रहेको थियो । विक्रम संवत् २०६८ रेल विभाग स्थापना भएपछि त्यसले नै रेल यातायातमा काम गरिरहेको छ । – सञ्चिता घिमिरे/रासस

salt training

कमेन्ट गर्नुहोस्