०१ असार २०८३, सोमबार

हात्तीको आक्रमणबाट १ जनाको मृत्यु

मंसिर २६, २०७८
हात्तीको आक्रमणबाट १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

कञ्चनपुरको लालझाडी गाउँपालिका–६ ढक्का शिविरका ४५ वर्षीय खगिराज रानाको शनिवार राति हात्तीले आक्रमणबाट मृत्यु भएको छ ।

झुपडी भत्काउँदै गर्दा भाग्ने क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको आरक्ष संघर्ष समितिका अध्यक्ष हिरासिंह भण्डारीले जानकारी दिए ।

घाइते अवस्थाका रानालाई स्थानीय वासिन्दाको सहयोगमा राति नै एम्बुलेन्समा राखेर बेलौरीस्थित अस्पतालमा उपचारका लागि लैजाने क्रममा मृत्यु भएको उनले बताए ।

‘हात्ती आएको थाहा पाउनेबित्तिकै परिवारका सबै जना भागे,’ उनले भने, ‘खगिलाई भाग्ने क्रममै हात्तीले आक्रमण गरी खुट्टा तोड्यो । हो–हल्ला गरी हात्ती भगायौं, अस्पताल पुर्‍याउँदा ज्यान गयो ।’

शिविरमा राना पत्नी, बुहारी र नातिनतिनासँग बस्दै आएका थिए । हात्तीले शिविरका वासिन्दाका २०  झुपडी समेत भत्काइदिएको छ ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट राति ८ः३० बजे १५ बढीका संख्यामा छावा सहितका जंगली हात्तीको बथान शिविरमा छिरेको उनको भनाइ छ । हात्तीले झुपडी भत्काउन शुरू गरेपछि शिविरका वासिन्दा सबै एकैठाउँमा जम्मा भएर हो–हल्ला गरेपछि हात्ती निकुञ्जतर्फ भागेको बताइएको छ ।

शिविरसहित हात्तीको बथानले लालझाडी गाउँपालिकाको डुंगाका वासिन्दाको समेत घर भत्काइदिएको वडाध्यक्ष फुलाराम चौधरीले बताए । हात्तीले बस्तीमै छिरेर मानवीय क्षति गर्न थालेपछि स्थानीय वासिन्दा त्रसित अवस्थामा रहेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्