मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
मंसिर २६, २०७८
गगन थापा महामन्त्रीको उम्मेदवार बन्ने विषयमा त कुनै सन्देह थिएन, तर शनिवार दिउँसो २ बजेसम्म पनि संस्थापन इतरबाट महामन्त्रीको अर्को उम्मेदवार को भन्ने विषयमा अन्यौल थियो । उम्मेदवारी मनोनयन गर्न जानुभन्दा केहीबेर अघि मात्र महामन्त्रीका अर्का उम्मेदवारको टुंगो लाग्यो– डा. मीनेन्द्र रिजाल ।
शेखरको प्यानलमा विश्वप्रकाश शर्मालाई समेट्ने विषयमा छलफल भएपनि उनी अटाएनन्, मीनेन्द्रले बाजी मारे । २०७४ सालको निर्वाचनमा कांग्रेसको लज्जास्पद पराजयपछि अर्ली महाधिवेशनको माग राखेर युवाहरूले देउवामाथि दबाब बढाएका थिए । त्यहीबेला देउवाले विश्वप्रकाशलाई टिपे । संस्थापनइतरबाट गगन महामन्त्री बन्ने तयारी गरेपछि शुरूमा देउवाले विश्वप्रकाशलाई आश्वासन दिए, अन्तिममा धोका ।
शेखरले समावेशी, स्वच्छ र कांग्रेसलाई हाँक्न सक्ने एउटा डायनामिक उम्मेदवारको प्यानल बनाए । नेतृत्व चयनका लागि हुने मतदानको नतिजाको पूर्वानुमान गर्न कठीन छ, तर शेखरको प्यालनप्रति कांग्रेस कार्यकर्ता आशावादी देखिएका छन् । सामाजिक सञ्जालमा उत्साहपूर्ण प्रतिक्रिया जनाएका छन् ।
कांग्रेस सभापतिमा देउवा, शेखर, प्रकाशमान सिंह, विमलेन्द्र निधिसहित ६ जनाको उम्मेदवारी परेको छ । यसपटक महाधिवेशनमा सबैभन्दा धेरै तयारी शेखरले गरेका थिए । १३ औं महाधिवेशनपछि, त्यसमा पनि २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसको पराजयपछि शेखरले गाउँ–गाउँमा गएर कांग्रेस कार्यकर्तालाई जागृत गराउन सक्रिय भूमिका खेलेका थिए ।
लामो रस्साकस्सीपछि शेखर संस्थापन इतरबाट सभापतिको ‘आधिकारिक’ उम्मेदवार बने । नेतृत्वको प्रतिस्पर्धाबाट विश्राम लिएका वरिष्ठ नेता रामचन्द्र पौडेलको समेत समर्थन पाएका शेखर संस्थापन इतरको साझा उम्मेदवार बने । एकप्रकारले शेखरको यो नैतिक विजय हो ।
उम्मेदवार बन्नका लागि शेखरले आफ्नै समूहमा धेरै मेहनत गर्नुपर्यो । सबैभन्दा बढी कठिन त उनलाई कोइराला परिवारका सदस्यलाई मनाउन नै पर्यो । रामचन्द्रले उम्मेदवारको दाबी छाडेर शेखरलाई सभापतिको उम्मेदवार बनाउने निर्णय गर्दैगर्दा सुजाताले प्रकाशमान सिंहको प्यानलबाट उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरिन् ।
अन्तिममा बाध्यात्मक रूपमा समर्थन गरेपनि शशांकले पनि शेखरलाई भित्रैदेखि सहयोग गरेनन् । मंसिर १ गते कोइराला परिवारका तीन सदस्य बसेर शेखरलाई सभापतिमा प्रस्ताव गर्ने तयारी रहेकोमा शशांक रहस्यमयी ढंगले संखुवासभा पुगे । मंसिर १ गते नै शेखरलाई समर्थन गरेको भए परिस्थिति अर्कै बन्न सक्थ्यो ।
शनिवार पनि शेखरको प्यानल फाइनल गर्ने समयमा तीनै दीपक खड्काले शशांकलाई एकैछिन कतै लगे । कांग्रेस सभापतिको दाबी गरेका महामन्त्री शशांकले पछिल्लो समय देखाएको बचपनले उनीमाथि कयौं प्रश्न उब्जाइदिएको छ ।
ढिलै भएपनि शेखरको नेतृत्वमा बनेको टीमको प्रशंसा भएको छ । कांग्रेसको नेतृत्व कसकोमा पुग्छ भनेर यकिन गर्न नसकिए पनि नेतृत्व चयन दोस्रो चरणमा पुग्ने आकलन गरिएको छ ।
गगन थापाको चमत्कार
नेपाली कांग्रेसको महामन्त्रीका लागि तीन युवा फरक प्यानलबाट प्रतिष्पर्धामा उत्रिएका छन् । ‘गगन, विश्वप्रकाश र प्रदीप (पौडेल)’ नेपाली कांग्रेसको युवा ब्राण्डको रूपमा परिचित छन् । गगनको क्रेज कति भने, शुक्रवार महाधिवेशनको उद्घाटन सत्रमा गगन मञ्चमा प्रवेश गर्नेबेला कार्यकर्ताले हुटिङ गरे । उनको पक्षमा नारा लगाए । कांग्रेसजनमा गगनको यो लोकप्रियता चुलिनुमा धेरै लामो पृष्ठभूमि छ ।
२०६४ सालको संविधानसभा चुनावमा गगनलाई प्रत्यक्षतर्फ टिकट माग्न जाँदा गिरिजाप्रसाद कोइरालाले भनेका थिए– गगन एउटै क्षेत्रमा खुम्चिँदा देशभर कांग्रेसको प्रचार कसले गर्छ ? पहिलो संविधानसभामा समानुपातिकबाट सांसद बनेका गगन दोस्रो संविधान सभामा प्रत्यक्ष चुनाव लडेर विजयी भए ।
२०७४ सालको प्रतिनिधि सभा चुनावमा एमाले र माओवादी गठबन्धन बनेको कठिन अवस्थामा पनि गगनले काठमाडौं ४ बाट सहज जीत निकाले । प्रतिनिधि सभा चुनावमा लज्जास्पद हार व्योहोरेर कांग्रेस कार्यकर्ता रक्षात्मक बनेको अवस्थामा गगन एक्लैले दुईतिहाइको बलशाली सरकारलाई संसद्मा हायलकायल बनाए ।
झण्डै दुईतिहाइ बहुमतसहितका प्रधानमन्त्री केपी शर्मा ओलीको अगाडि कसैले प्रश्न उठाउन नसकेको अवस्थामा गगन मात्र अपवाद बने । एकपटक होइन, पटक–पटक प्रश्न उठाए । गगनकै प्रश्नमा ओलीले पटक–पटक जवाफ दिनुपर्यो । गगनसँग ओलीको प्रतिवाद महामन्त्रीको प्रतिबद्धता पत्र सार्वजनिक गर्नेबेलासम्म चलिरहेको छ ।
गगनले सार्वजनिक गरेको ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणा आफूले भन्ने गरेको ‘समृद्ध नेपाल, सुखी नेपाली’बाट लिइएको भनेर ओलीले दाबी गरेका थिए । तर यसमा पनि गगनको हात माथि परेको छ । यो अवधारणा गगनले २०७२ पछि सार्वजनिक गरेका बताएका छन् ।
सन् २००८ को राष्ट्रपतीय निर्वाचनमा अमेरिकामा जसरी बाराक ओबामाको पक्षमा ह्वीम आएको थियो, झण्डै त्यस्तै शैलीमा गगनको क्रेज देखिँदैछ नेपाली राजनीतिमा । आवश्यक तयारी, रणनीति र वाककला सबैका कारण गगनलाई कांग्रेसको महामन्त्री, भविष्यमा कांग्रेसको सभापति र शायद देशकै नेतृत्व गर्नबाट रोक्न कठिन पर्ने देखिन्छ । उनले जबरजस्त ढंगले आफ्नो नेतृत्व क्षमता विकास गरिरहेका छन् । समकालीन युवा नेतामा उनीसँग प्रतिस्पर्धा गर्ने आँट कसैले देखाएका छैनन् । प्रतिस्पर्धीहरू फिक्का देखिएका छन् ।
२०७७ पुस ५ को प्रतिनिधि सभा विघटनविरुद्ध गगन त्यसै दिन सडकमा आए । न्यायाधीशहरूलाई चुनौती दिँदै न्यायालयको चार किल्लाभित्र न्यायको हत्या नहोस् भनेर उनले पटक–पटक खबरदारी गरे । जतिबेला अदालतमा मानहानीको अस्त्र सोझ्याइएको थियो, त्यो बेला पनि गगनले जनआन्दोलनकै शैलीमा भाषण गरे । गणतन्त्र स्थापनाको आन्दोलनदेखि प्रतिनिधि सभा विघटनविरुद्धको आन्दोलनमा गगनको एजेण्डामा कांग्रेस लत्रिनु परेको छ ।
गगनको क्रेज देखेरै अहिले सभापतिको उम्मेदवारी दिएका विमलेन्द्र निधिले आफ्नो उम्मेदवारीको पुष्टि गर्ने क्रममा भनेका थिए– ‘१५ औं महाधिवेशनमा गगन–विश्वप्रकाशको पुस्ता नेतृत्वको दाबी गर्न आउँछ, त्यसैले यसैपटक उम्मेदवारी दिन्छु ।’
नेपाली कांग्रेसका आमकार्यकर्तामा पार्टीलाई पुनर्जीवन कसैले दिन्छ भने त्यो गगन थापा हो भन्ने बुझाइ पाइन्छ । त्यसैले सभापतिमा दाबी गर्ने सबैको पहिलो रोजाइ गगनलाई महामन्त्रीको उम्मेदवार बनाउनु थियो ।
एउटै पदमा गगन विश्वप्रकाश र प्रदीपको भीडन्त
गगन, विश्वप्रकाश र प्रदीप पौडेलको यो पुस्तालाई हेरेर युवाहरू कांग्रेसमा आकर्षित भएका छन् ।
विश्वप्रकाश गगनभन्दा अगाडि र प्रदीप पौडेल गगनपछि कांग्रेसमा उदाएका युवा नेता हुन् । यी तीनैजना उम्मेदवार एउटै पदमा लडेका छन्, फरक–फरक प्यानलबाट । विश्वप्रकाश र प्रदीप नेविसंघको अध्यक्ष बनेका थिए ।
कांग्रेसभित्रका सेलिब्रेटी यी तीनमध्ये कम्तिमा पनि एकजना १४ औं महाधिवेशनबाट बन्ने कांग्रेसको नेतृत्वमा अट्ने छैनन् । जुनै प्यानलबाट उम्मेदवार बनेपनि यी अनुहार कांग्रेसका लागि र देशका लागि आवश्यक हुन् । गगन, विश्वप्रकाश र प्रदीपमध्ये कसलाई छाड्ने कांग्रेसका मतदाताका लागि धर्मसंकटको विषय हुनेछ ।
विगतमा सहकार्य गरेका यी तीन नेताले सायदै सोचेका थिए होलान् भविष्यमा एउटै पदमा प्रतिष्पर्धा गर्नुपर्ने दिन आउनेछ । महामन्त्रीमा जित्नेले पनि हार्नेलाई उपेक्षा गर्ने अवस्था रहँदैन ।
अन्य केही आशा लाग्दा उम्मेदवार
कांग्रेस महाधिवेशन उद्घाटन समारोहमा विजय गच्छदारले साँझको समयमा लम्बेतान भाषण गर्दै प्रजातन्त्रका लागि ५ दशकसम्म कांग्रेसमा रहेर लडेको व्यक्ति भनेर आफ्नो परिचय गराएका थिए । यो टिप्पणी गच्छदारको विरोधका लागि होइन । प्रजातन्त्र र कांग्रेसका लागि ५ दशक लडेका गच्छदारले लगानीको तुलनामा प्रतिफल धेरै लिइसकेका छन् । सत्ताको स्वाद र सुविधा भोग गर्ने मामिलामा गच्छदार एउटा विम्ब बनेका छन् ।
कांग्रेस र देशका लागि अब गच्छदारभन्दा डा. चन्द्र भण्डारी र धनराज गुरुङहरूको आवश्यकता रहेको कांग्रेसकै एक नेता बताउँछन् ।
राष्ट्रियता, जनजीविका र भ्रष्टाचारको विरुद्धमा भण्डारी र गुरुङ खरो रूपमा उत्रिँदै आएका छन् । देशका अधिकांश जिल्लामा पुगेर प्रशिक्षण दिँदै हिँडेका धनराजले दुईपटक संसद्को सार्वजनिक लेखा समितिमा बसेर ठूला घोटाला उत्खनन्को काम गरेका थिए । भण्डारी कांग्रेसका प्रखर नेता हुन् । देश, जनता र राष्ट्रियताको मामिलामा भण्डारीले लेख्दै र बोल्दै आएका छन् ।
कोइराला प्यानलबाट सहमहामन्त्री बनेका अनुहार पनि आशालाग्दा छन् । कमला पन्तदेखि बद्री पाण्डेसम्म, जीवन परियारदेखि रामकृष्ण यादवसम्म राजनीतिमा निष्कलंकित नेता हुन् । दुईपटक प्रत्यक्ष चुनाव जितेर एकपटक सार्वजनिक लेखा समितिको सभापति र एकपटक मन्त्री बनेका रामकृष्ण यादव कुनै विवादमा मुछिएनन् ।
कांग्रेसको जिल्ला सभापति बनेको समयदेखि नै उनी कार्यकर्तालाई नमस्कार गर्ने फरक खालका नेता हुन् ।
शेरबहादुर देउवाको प्यानलमा रहेका सहमहामन्त्रीका उम्मेदवार जीवनबहादुर शाही पनि कांग्रेसका लागि आवश्यक उम्मेदवार हुन् ।
विकट हुम्लामा जन्मेर बूढानीलकण्ठ स्कूलदेखि अमेरिकासम्म पुगेर अध्ययन गरी फर्केका शाही कर्णालीको विकासमा क्रियाशील अनुहार हुन् । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री रहेका शाहीले लोकान्तरमार्फत ‘च्याउ, स्याउ र झ्याउ’को अवधारणा सार्वजनिक गरेका थिए । जसले कर्णालीको विकासबारे नयाँ बहस जन्माएको थियो ।
संसद्मा रहँदा वा बाहिर रहँदा पनि जनतासँग नजिक रहने रामहरि खतिवडा, अध्ययनशील युवा नेता शंकर तिवारीदेखि दीपक अधिकारी र दीपक भट्टराईसम्म कांग्रेसको केन्द्रीय सदस्यका लागि मैदानमा उत्रेका छन् । देशको आर्थिक विकासमा चिन्तन गर्ने गोविन्द पोखरेलदेखि अपाङ्गता भएका व्यक्तिका लागि संसदबाट सशक्त आवज उठाइरहेका प्रकाश पन्थसम्म कांग्रेसको नेतृत्व तहमा पुग्न अग्रसर देखिएका छन् ।
कसलाई नेतृत्वमा पुर्याउने नपुर्याउने कांग्रेसका प्रतिनिधि –मतदाता)को कुरा भयो । तर देशको अग्रणी पार्टी जसको नेतृत्वले राष्ट्रिय राजनीतिलाई समेत फरक पार्ने विषयमा बाहिरी जगतको चासो रहन्छ । राजनीतिप्रति आम युवामा वितृष्णा पैदा गरेको समयमा कांग्रेस महाधिवेशनबाट आउने नयाँ नेतृत्वले राजनीतिलाई फोहोरी खेल भनेर लाग्ने गरेको आरोप पखाल्ने काम गरोस् ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...