काठमाडौं विश्वविद्यालयको तीसौं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्रा. डा. भोला थापा र संस्थापक उपकुलपति प्रा. डा. सुरेश राज शर्माले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरी कार्यक्रमको औपचारिक शुभारम्भ गरेका थिए ।
कार्यक्रममा विश्वविद्यालयले वार्षिकोत्सवको प्रतीक स्वरूप ३० वटा परेवा उडाएको थियो ।
कार्यक्रममा विश्वविद्यालयको स्थापना र विकासमा संलग्न रहेर शैक्षिक तथा प्रशासनिक क्षेत्रमा समेत कार्यरत रही जीवनको महत्त्वपूर्ण समय व्यतीत गरेका स्व. रामानन्द मिश्र र स्व. टीकादत्त बराललाई ‘केयू ओरेसन, २०२१’ बाट सम्मान गरिएको थियो ।
सम्मानपत्र उपकुलपति प्रा. डा. थापाले प्रदान गरेका थिए स्व. रामानन्द मिश्रका तर्फबाट उनका छोरा अजय मिश्रले र स्व. टीकादत्त बरालका तर्फबाट उनकी पत्नी शोभा बरालले सम्मानपत्र ग्रहण गरेका थिए ।
कार्यक्रममा काठमाडौं विश्वविद्यालयका पूर्व पदाधिकारी, निवृत्त प्राध्यापक र निवृत्त कर्मचारीका साथै वर्तमान पदाधिकारी, प्राध्यापक र कर्मचारीहरूको उपस्थिति थियो ।