बीमा समितिले ४७ करोड ३७ लाख रुपैयाँको लागतमा नयाँ भवन बनाउने भएको छ ।
समितिको ललितपुरको कुपण्डोलस्थित जग्गामा नयाँ निर्माण हुन लागेको भवनको सोमवार अर्थमन्त्री जनार्दन शर्माले गरेका छन् ।
कार्यक्रममा अर्थमन्त्री शर्मा र शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले संयुक्तरूपमा भवन शिलान्यास सम्बन्धी शिलापत्रको अनावरण गरे ।
समितिको १० रोपनी जग्गामा रू. ४७ करोड ३७ लाखको लागतमा निर्माण हुने भवन भूकम्प प्रतिरोधी हुनाका साथै अपाङ्गमैत्री हुनेछ ।
भवन सात तलाको हुनेछ र यसमा १२० जनासम्म सहभागी हुनसक्ने अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, ४० जना क्षमताको छुट्टै बैठक कक्ष, बोर्ड कक्ष, करिव ८० वटा सवारी साधन पार्किङ्ग गर्न मिल्ने अण्डरग्राउण्ड पार्किङ्ग र ११२ जनासम्म क्षमताको चमेनागृह लगायतका सुविधाहरू उपलब्ध हुनेछन् ।
भवनको निर्माण कार्य निर्माण शुरू भएको मितिले ३० महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
भवन शिलान्यास समारोहलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री जनार्दन शर्माले मानव जीवन, भौतिक सम्पत्ति एवम् सरकारी र सार्वजनिक पूर्वाधारमा रहेका जोखिमहरूको न्यूनीकरणमा बीमाको महत्वपूर्ण योगदान हुने भएकाले देशका दूरदराजका कृषक र विपन्न बर्गसम्म बीमाको पहुँच पुग्नुपर्ने बताए ।
अर्थमन्त्री शर्माले जनतालाई बीमा गर्न उत्साहित गर्नका लागि बीमा कम्पनीहरूको व्यवहार र क्रियाकलाप विश्वासयोग्य हुनुपर्ने आवश्यकता औंल्याए ।
‘बीमा व्यापार मात्र हैन, जोखिमको रक्षा कबच पनि हो । तसर्थ, बीमा सेवा हो भनेर बीमा कम्पनीले बुझ्नुपर्यो । कृषि बालीको बीमा नगरी किसान अगाडि बढ्न सक्ने अवस्था छैन,’ अर्थमन्त्री शर्माले भने,‘सरकारले कृषि बीमामा ८० प्रतिशतको अनुदानको व्यवस्था गरेको छ, तर पनि त्यसतर्फ बीमा कम्पनीहरूको ध्यान पुगेको छैन ।’
समारोहमा शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अर्थ समितिमा बीमा समिति र धितोपत्र बोर्डसँग सम्बन्धित विधेयकहरू छलफलको अन्तिम चरणमा पुगेका र छिट्टै पास हुने अवस्था रहेको बताइन् ।
उनले ऐन, नियम मार्फत नियामक निकायलाई सशक्त र अधिकार सम्पन्न बनाउनेतर्फ सम्बद्ध सबैको ध्यान जानु जरूरी भएको समेत बताइन् ।
मन्त्री झाँक्रीले बीमा समिति जस्ता नियमनकारी निकायहरूको कामलाई प्रभावकारी बनाउनका लागि सुविधा सम्पन्न भौतिक संरचनाका साथै राम्रो वातावरण आवश्यक पर्नेमा जोड दिइन् ।
नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले देशमा बीमाको दायरा क्रमिक रूपमा बढ्दै गएको उल्लेख गरे ।
बाध्यात्मक किसिमले बीमा गर्ने भन्दा पनि स्वतःस्फूर्तरूपमा बीमा गर्ने अवस्था सिर्जना हुनुपर्ने आवश्यकता उनले औंल्याए ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले चालू आर्थिक वर्षमा कूल जनसङ्ख्याको ३३ प्रतिशतलाई बीमाको दायरामा ल्याउने सरकारको लक्ष्य हासिल गर्नका लागि तालिकावद्ध रूपले अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक पद्म कुमार मैनालीले नेपाल राष्ट्रिय भवन संहिताका सबै प्रावधान पालना गरेर बीमा समितिको भवन बनाइने र भवन नेपाली शैलीको आधुनिक सुविधा सम्पन्न हुने जानकारी दिए । साथै, उनले भवन तोकिएकै लागत र गुणस्तरमा तोकिएको मितिमा निर्माण सम्पन्न गर्न विभागले आवश्यक कार्य गर्ने प्रतिवद्धता व्यक्त गरे ।
बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा दाबी भुक्तानीलाई सरल, सहज एवम् छिटो छरितो बनाई जनता स्वयम् बीमा गर्न उत्साहित हुने खालको वातावरण सिर्जना हुनुपर्छ भन्ने मान्यताका साथ समितिले यस वर्ष बीमा दाबी भुक्तानी वर्ष मनाउँदै आएको बताए ।
कार्यक्रममा अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्कर, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, बीमा समितिका पूर्वअध्यक्ष, नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक, बीमा कम्पनी र पुनर्बीमा कम्पनीका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।