
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदानमा पहिलो चरणमा सभापति पदमा कसैले बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव गर्नुपर्ने भएको छ ।
मंगलवार बिहान सम्पन्न मतगणनामा पहिलो चरणमा कसैले आवश्यक बहुमत ल्याउन नसकेपछि दोस्रो चरणको निर्वाचन हुने भएको हो ।
पहिलो चरणमा प्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवाले २२५८ मत प्राप्त गरे । सभापतिका अर्का प्रत्यासी डा. शेखर कोइरालाले .१७२९ मत ल्याए । प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरेका छन् ।
अब धेरै मत ल्याउने देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा हुनेछ । यससँगै पहिलो चरणका उम्मेदवार सिंह र निधि प्रतिस्पर्धाबाट ‘आउट’ भएका छन् । तर दोस्रो चरणको चुनावमा सिंह र निधि ‘किङ मेकर’ बनेका छन् ।
दोस्रो चरणका लागि हुने समीकरणले नतिजामा प्रभाव पार्नेछ । दोस्रो चरणमा गए देउवाविरुद्ध मोर्चाबन्दी गर्ने निधिले बताइसकेका छन् ।
संस्थापनइतर समूहका उम्मेदवार सिंह र निधिले समर्थन गरेमा शेखर कोइरालालाई जित्न सहज हुनेछ ।
सोमवार मध्यरातसम्म चलेको मतदानमा ४ हजार ७ सय ४३ मतदातामध्ये ४ हजार ६ सय ७९ जनाले मतदान गरेका थिए । सभापतिको टुंगो लागेपछि मात्र अन्य पदाधिकारी र केन्द्रीय सदस्यको मतगणना हुनेछ ।