
बादरले सुन्तला नष्ट गर्न थालेपछि म्याग्दीका कृषक चिन्तित भएका छन् ।
बाँदर सुन्तला खान पल्किएपछि कृषकलाई चिन्तित बनाएको हो ।
हुल बाँधेर आउने बाँदरले सुन्तला खाने र नष्ट गरेर सताउन थालेको बेनी नगरपालिका–४ बास्कुनाका कृषक भीमबहादुर थापाले बताए ।
‘सुन्तला खान पल्किएपछि बाँदरले सताउन थालेको छ,’ उनले भने, ‘रुखमा चढ्यो भने एउटा खाने, १० वटा झारेर सखाप बनाउँछ ।’
करीब ५० घरधुरीको बसोबास रहेको बास्कुनामा पूरै गाउँमा सुन्तला खेती गरेका छन् । बाँदरबाट सुन्तला जोगाउन कृषकले पालो लगाएर बगैँचा कुर्ने गरेका छन् ।
वडा, नगरपालिका र कृषि ज्ञान केन्द्रको कार्यालयमा बाँदर नियन्त्रणका लागि अनुरोध गरिएको कृषक थापाले बताए । उनका अनुसार बाँदरको समस्याले नपाक्दै सुन्तला टिपेर बजार पठाउन थालिएको छ ।