
ग्लोबल आइएमई बैंक लिमिटेडको १५औँ वार्षिक साधारणसभा सोमवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७७/७८ को कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीहरुलाई प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी जम्मा १३.५ प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै बैंकको १५औँ वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
बैंकले आर्थिक वर्ष २०७७/७८ मा सञ्चालन मुनाफा ७ अर्ब ९ करोड रुपैयाँ र करपछिको मुनाफा ४ अर्ब १६ करोड रुपैयाँ आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने छ ।
साधारणसभामा बैंकको सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७७/७८ को प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंक आफ्नो स्थापनाकालदेखि नै सरकार एवं नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको परिपालना गर्दै आफ्ना शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्न कटिबद्ध रहेको बताए ।

बैंकले सदाझैँ आफ्नो व्यावसायिक रणनीतिक योजना अनुरुप निक्षेप संकलन, कर्जा लगानी तथा व्यवसाय विस्तारका सन्तुलित रुपमा बैंकको उपस्थिति वृद्धि गर्दै जाने उनले बताए ।
कोरोना महामारीले अर्थतन्त्रमा पारेको प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल प्रविधिमार्फत सेवा प्रवाह गर्दै ग्राहकहरुलाई थप प्रभावकारी सेवा पुर्याउन लागिपरेको पनि उनले जानकारी गराए ।
साथै, बैंकले अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने तथा राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणाअनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रमहरु आयोजना गर्दै जाने पनि जानकारी गराए ।
बैंकको खुद मुनाफा आ.व.२०७६/७७ को तुलनामा आ.व.२०७७/७८ मा ४३.२० प्रतिशतले वृद्धि भई ४ अर्ब १६ करोड रुपैयाँ पुगेको हो ।
हाल बैंकले २ खर्ब ७४ अर्ब रुपैयाँ भन्दा बढी निक्षेप संकलन गर्नुका साथै २ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरेको छ ।
सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यका साथ बैंकले देशका ७६ जिल्लामा २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालय सहित ८५० भन्दा बढि सेवा केन्द्रबाट २७ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।