१८ असार २०८३, बिहीबार

प्रचण्डको अभिव्यक्तिपछि लगातार घटेको शेयर बजारमा चमक, नेप्से ६ प्रतिशतले बढेपछि कारोबार बन्द

मंसिर २८, २०७८
प्रचण्डको अभिव्यक्तिपछि लगातार घटेको शेयर बजारमा चमक, नेप्से ६ प्रतिशतले बढेपछि कारोबार बन्द

निरन्तर ठूलो अंकले घटिरहेको शेयर बजारमा मंगलवार भने हरियाली छाएको छ ।

मंगलवार नेप्से परिसूचक कारोबारको डेढ घन्टामै ५ प्रतिशतले वृद्धि भएपछि ४० मिनेटका लागि कारोबार रोकिएको थियो । 

कारोबारको शुरूवाती समय ११ बजेदेखि नै हरियाली छाएको शेयर बजारमा १३ बजेर ३८ मिनेटमा नेप्से ५ प्रतिशतले वृद्धि भएको थियो । यस्तै १ सय १८ अंकमा खुलेको नेप्से अर्को ८ मिनेटमा नै १ प्रतिशत वृद्धि भएर ६ प्रतिशत बढेपछि आजको लागि कारोबार बन्द भएको छ ।

मंगलवार नेप्से परिसूचक १३७.१८ अंकले बढेर २४१८.८५ विन्दुमा बन्द भएको छ ।

शेयर बजारमा कारोबार शुरू भएको पहिलो एक घण्टामा नेप्सेमा ४ प्रतिशतको घटबढ भएमा २० मिनेट, दोस्रो घण्टाभित्र ५ प्रतिशतले घटबढ भएमा ४० मिनेट र ६ प्रतिशतले घटबढ भएमा उक्त दिनको कारोबार नै बन्द हुने गर्दछ ।

सोही अनुरुप नेप्से ६ प्रतिशतले बढेपछि मंगलवारको लागि कारोबार नै बन्द भएको हो । 

गत शनिवार पूर्व प्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शेयर बजारलाई साम्राज्यवादको विकसित रूप भएको टिप्पणी गरेका थिए । 

प्रचण्डको सो टिप्पणीप्रति लगानीकर्ता तथा अन्य व्यक्ति र समूहहरूले पनि विरोध गरेका थिए । 

लगानीकर्ता निराश हुँदा आइतवार र सोमवार शेयर बजारमा उच्च गिरावट भएको थियो । 

मंगलवार भने शेयर बजारमा ‘बाउन्स ब्याक’ हुँदै सकारात्मक सर्किट लागेको छ ।

नेप्सेमा आज १ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
 

कमेन्ट गर्नुहोस्