
नेपाली कांग्रेसको सभापतिमा शेरबहादुर देउवालाई समर्थन गरेका नेता कृष्ण सिटौलाले चुनावमा प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे शेरबहादुर देउवासँग कुनै शर्त नराखेको स्पष्ट गरेका छन् ।
उनले महाधिवेशनपछि देउवाले पार्टीलाई एकताबद्ध र सुदृढ बनाएर लैजाने विश्वास व्यक्त गरे ।
कांग्रेस महाधिवेशनअन्तर्गत सभापतिका लागि दोस्रो चरणको मतदान भइरहेको स्थल राष्ट्रिय सभागृहमा पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले आफूले कुनै पदको ‘बार्गेनिङ’ नगरेको बताएका हुन् । ‘प्रधानमन्त्रीको उम्मेदवार बन्नेबारे कुनै सहमति भएको छैन, कुनै कन्डिसन राखेको छैन,’ पत्रकारले सोधेको एक प्रश्नको जवाफमा सिटौलाले भने ।
सिटौलाले नेपाली कांग्रेसलाई अझै संगठित र संस्थागत गर्नको लागि सडकबाट अझ बढी काम गर्न सकिन्छ भनेर आफूले कुनै पदमा उम्मेदवारी नदिएको बताए । सिटौलाले आफ्नो समूहबाट प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएका छन् ।