काठमाडौं, १७ पुस-प्रधानमन्त्री पुष्पकमल दाहाल र संविधानप्रति असन्तुष्ट संयुक्त मधेसी मोर्चाका नेताबीच संविधान संशोधन विधेयकलाई संसद्मा टेबुल गरेर अघि बढाउने सहमति गरेका छन् ।
प्रधानमन्त्री र मोर्चाका नेताहरूबीच प्रतिपक्षी दल नेकपा एमालेसहितका नौ दलको विरोधकै बाबजुद संविधान संशोधन विधेयक संसद्मा पेस गर्ने सहमति भएको आजको राजधानी दैनिकमा खबर छ | यसअघि प्रमुख सत्तासाझेदार नेपाली कांग्रेस र मोर्चाबीच पनि एमालेको अवरोधबीच संशोधन प्रक्रिया अगाडि बढाउने सहमति भएको थियो । सत्तारूढ दल र मोर्चाबीचको सहमतिसँगै सोमबार बस्ने संसद् बैठकमा संशोधन विधेयक टेबुल गर्ने तयारीमा सरकार लागेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार भएको भेटमा दुवै पक्ष सोमबार बस्ने संसद् बैठकमा विधेयक टेबुल गराएर अघि बढाउने सहमति गरेका हुन् । बैठकमा मोर्चाका नेताहरूले संविधान संशोधन विधेयक अगाडि बढाउन आग्रह गर्दै संशोधन विधेयकको टुंगोसँगै आफूहरू निर्वाचनमा भाग लिने बताएका थिए ।प्रधानमन्त्री दाहालले पनि सोमबार बस्ने संसद् बैठकमा संशोधन विधेयक टेबुल गरेर अघि बढ्ने बताएका छन् ।
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्णले संविधान संशोधनको प्रस्ताव पेस गरेर पारित गर्ने प्रक्रियामा लैजान प्रधानमन्त्रीसँग सहमति भएको बताए ।