०६ साउन २०८३, बुधबार

भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान

भरतपुर अस्पतालमा तरल अक्सिजन उपकरण जडान

भरतपुर अस्पतालमा तरल (लिक्विड) अक्सिजन उपकरण जडान गरिएको छ ।

अस्पतालमा पर्याप्त अक्सिजन आपूर्तिका लागि उपकरण जडान गरिएको हो ।
 
अस्पतालका बायो मेडिकल इन्जिनीयर तुलसी खनालका अनुसार २० हजार लिटर क्षमताको उपकरणले २ हजार सिलिन्डर बराबरको ग्यास अक्सिजन आपूर्ति गर्दछ । यस उपकरणबाट अस्पतालको सेन्ट्रल सप्लाइमा अक्सिजन जडान गरिँदै छ ।

यसै हप्ता सम्पूर्ण जडान कार्य सम्पन्न गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अक्सिनको माग उच्च रहेको समयमा यसबाट आपूर्ति गर्न सहज हुने खनालका भनाइ छ ।
 
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार यो उपकरण जडान गरेसँगै अक्सिजन उत्पादनको लागत घट्ने छ । ट्यांकीमा तरल अक्सिजन ल्याएर ट्यांकीमा भरेपछि आवश्यकताअनुसार यसबाट आपूर्ति गर्न सकिने छ । यूएसएडको अनुदानमा प्राप्त उपकरण स्वास्थ्य मन्त्रालयले भरतपुर अस्पताललाई उपलब्ध गराएको पौडेलले जानकारी दिए ।
 
यसअघि अस्पतालमा ग्यास अक्सिजन प्लान्ट रहेको छ । प्लान्टबाट २४ घण्टामा ७५ सिलिण्डर बराबरको अक्सिजन उत्पादन हुँदै आएको छ । अस्पतालमा आवश्यकताअनुसार अन्यत्रबाट सिलिन्डर मगाएर समेत माग पूर्ति गरिँदै आएको छ । 

कोभिड–१९ को महामारीको समयमा जिल्लामा अक्सिजनको आपूर्तिमा कमी आएको थियो । उक्त समयमा उच्च गति (हाइफ्लो) को अक्सिजन आवश्यकता हुँदा पूर्ति गर्न कठिन भएको थियो । सो समयमा भरतपुर अस्पतालमा दैनिक २०० सिलिन्डर अक्सिजन माग भएको थियो ।
 
तरल अक्सिजन उपकरण जडान गरेसँगै अक्सिजनको माग उच्च रहेको समयमा सहज हुने प्रा.डा. पौडेलले बताए । अस्पतालमा अर्काे अक्सिजन प्लान्टका लागि भवन निर्माणको कार्य भइरहेको छ । एनआरएनएको सहयोगमा प्लान्ट जडान गरिँदैछ । चीनबाट उपकरण खरिदको प्रक्रिया शुरू भइसकेको उनले जानकारी दिए ।

नयाँ प्लान्ट जडान र तरल अक्सिजन प्लान्ट सञ्चालनमा आएसँगै अक्सिजन किन्नुपर्ने बाध्यता हट्ने छ । संघीय अस्पताल भरतपुरमा चितवनसहित  १९ जिल्लाका बिरामी उपचारका लागि आउने गर्दछन् । 

सरकारी अस्पतालमा खर्च कम हुने भएकाले यस अस्पतालमा बिरामीको चाप बढ्दो छ ।
 

कमेन्ट गर्नुहोस्