०४ साउन २०८३, सोमबार

बिदा स्वीकृत नगराइ अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

सेवाबाट हटाउने चेतावनी
असार ३२, २०८३
काठमाडौं
बिदा स्वीकृत नगराइ अनुपस्थित २३ स्वास्थ्यकर्मीलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वीकृत विदा बिना नै लगातार ६० दिनभन्दा बढी समयदेखि आफ्नो कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य क्षेत्रका कर्मचारीलाई स्पष्टीकरण सोधेको छ । 

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै ती कर्मचारीहरूलाई आफ्नो बचाउमा १५ दिनभित्र सफाइ पेश गर्न निर्देशन दिएको हो ।

मन्त्रालयका अनुसार ती कर्मचारी नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) विपरीत बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म कार्यालयमा अनुपस्थित रहेका पाइएका छन् । 

तोकिएको १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण वा सफाइ पेश नगरेमा उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय गरिने चेतावनी मन्त्रालयले दिएको छ ।

स्पष्टीकरण माग गरिएका कर्मचारीमध्ये काठमाडौंको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालमा कार्यरत १३ जना रहेका छन् ।

स्पष्टीकरण सोधिएकाहरूमा नवौं तहका रेडियोलोजिष्ट डा. अमित रौनियार, सातौं तहकी नर्सिङ अधिकृत सुनिता कुमारी यादव, छैटौं  तहका अस्पताल नर्सिङ निरीक्षकहरू साहिदा सुब्बा र अनिता बसेल छन् । यस्तै, पाँचौं तहका स्टाफ नर्सहरू अन्जुकला राई, सरस्वती अर्याल, सकिला चौलागाई, प्रतिक्षा ढकाल र गायत्री हमाल छन् ।

वीर अस्पतालकै आठौं तहका मेडिकल अधिकृतहरू डा. सुधा शाही, डा. रक्षा उप्रेती र डा. प्रशान्त कुमार गुप्ताका साथै दशौं तहका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा. विनित कुमार झालाई पनि स्पष्टीकरण सोधिएको छ ।

त्यसैगरी, कान्ति बाल अस्पतालमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई स्पष्टीकरण माग गरिएको छ । जसमा नवौं तहका कन्सल्टेन्ट पेडियाट्रिक सर्जन डा. मृदूल प्रसाद जोशी, पाँचौं तहकी स्टाफ नर्स चित्रा कुमारी घिमिरे र आठौं तहका मेडिकल अधिकृत डा. सुजित कुमार झा छन् । 

यसैगरी, दशौं तहकी वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन डा. अंशु झा, आठौं तहकी मेडिकल अधिकृत डा. दोस्ती रेग्मी र छैटौं तहकी अस्पताल नर्सिङ निरीक्षक सृजना जीसीलाई पनि मन्त्रालयले सफाइ पेश गर्न निर्देशन दिएको छ ।

यसका अतिरिक्त शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका पाँचौं तहका स्टाफ नर्सहरू सुनिता सिंह र विनु निरौलालाई स्पष्टीकरण सोधिएको छ । 

त्यस्तै, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुरकी छैटौं तहकी जनस्वास्थ्य नर्सिङ अधिकृत पुष्पा क्षेत्री र आयुर्वेद चिकित्सालय नरदेवीका आठौं तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट सरोज अधिकारीलाई पनि स्पष्टीकरण सोधिएको छ ।

null

salt training

कमेन्ट गर्नुहोस्